१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक समृद्धिका लागि अब सरकराले काम गर्ने र त्यसका लागि कुनै सम्झौता नगर्ने उनको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीले राम्रो काम गर्दा पनि जस नदिने गरेको बताए । सरकारले विकास, परिवर्तन र उन्नतिका लागि हरसम्भव प्रयास गर्ने उनले बताए । आफूले पानी जहाज र रेलको कुरा गर्दा चंगा उडाए जसरी त्यसलाई उडाउने गरिएको भन्दै उनले त्यस्तालाई रेल र पानी जहाज देखाएर छोड्ने अठोट व्यक्त गरे । ‘रेल र पानी जहाज आजको आजै आउने होइन, यसका लागि समय लाग्छ,’ उनले भने,  ‘अब यो प्रक्रिया सुरु भयो, काम हुन्छ।’

हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालको विकासबारे भारतीय प्रधानमन्त्रीसँग कुरा भएको उल्लेख गर्दै उनले अब देशलाई आर्थिक रुपमा समृद्ध बनाएरै छाड्ने बताए । उनले सरकारी निकाय तथा उद्यमी, व्यवसायी सबैलाई उपभोक्ताको हितमा काम गर्न निर्देशन दिए।

प्रत्येक उपभोग्य वस्तुका अलगअलग उपभोक्ता भएको भन्दै सबै व्यवसायीले उपभोक्ताको हितमा ध्यान दिन उनले आग्रह गरे । ‘कुनै पनि किसिमका उपभोक्ता शोषणमा नपरून्,’ उनले भने, ‘उपभोक्ताको हितमा सबैले ध्यान राख्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायीले नक्कली ढंगले कारोबार नगरी सक्कली ढंगले नै कारोबार गर्नुपर्नेमा जोड दिए । सही कारोबार गर्ने व्यवसायीलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उनले बताए।

सुनचाँदी व्यवसायी महासंघले अवैध रूपमा भित्रिने सुनले आफूहरूको कारोबारमा समस्या आइरहेकाले त्यसलाई रोक्न माग गरेकोप्रति प्रधानमन्त्री ओलीले सुनको मात्रै नभई सबै किसिमका तस्करी रोक्न सरकार प्रतिबद्ध रहने बताए । सरकारको मुख्य उद्देश्य भनेकै आर्थिक सुशासन भएको र त्यसमा आवश्यक सहयोग व्यवसायीले पनि गर्नुपर्ने उनको भनाइ छ।

सुनचाँदी व्यवसायीले सुन तथा चाँदीको कारोबार गर्न निर्देशिकाको खाँचो रहेको र सरकारको ढिलाइले त्यसको कार्यान्वयन नभएको भन्दै आफूले निर्माण गरेर सरकारलाई बुझाएको निर्देशिका चाँडै कार्यान्वयनमा ल्याउनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखे । प्रधानमन्त्री ओलीले निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने बताए ।

‘तपाईंहरूको निर्देशिकाबारे सरकार गम्भीर रहेको छ,’ उनले भने, ‘संसदमा पुगिसकेकाले निर्देशिका चाँडै कार्यान्वयनमा आउनेछ ।’सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले अवैधरूपमा आयात भइरहेको सुन तथा चाँदीले आफ्नो कारोबारमा समस्या आइरहेको बताए । अवैध रुपमा आयात भइरहेको सुनलाई रोक्न उनले सरकारसँग माग गरे।

उनले आफूहरूको व्यावसायिक शान्ति सुरक्षा, तथा व्यावसायिक ऐन बनाउन प्रधानमन्त्री ओलीसमक्ष माग गरे । अध्यक्ष सुनारले कारोबार निर्देशिका अभाव, सुनको आपूर्तिमा भएको कमी, शान्ति सुरक्षाको अवस्थालगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय सरकारले सुनको आयातमा लगाएको कोटा प्रणालीले सुनको आपूर्तिमा समस्या आएको भन्दै सुन आयातको कोटा बढाउन उनले माग गरे ।
 

प्रकाशित: २८ चैत्र २०७४ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App