१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

चार महिनामै चार अर्बको गलैंचा निर्यात

सुसमाचार

मुलुकमा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा गलैंचा (कार्पेट) उद्योगले भने आशा जगाएको छ। नेपालमा उत्पादन भएको गलैंचा स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय बनेको छ। यहाँ उत्पादन भएको गलैंचा, भुइँमा प्रयोग हुने कपडाको कभरिङ विश्वका करिब ५० मुलुकमा निर्यात हुने गरेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा तीन अर्ब ९१ करोड रूपैयाँ मूल्यको आठ लाख ३२ हजार पाँच सय १७ स्क्वायर फिट गलैंचा विदेश निर्यात भएको छ। यहाँको गलैंचा अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको नेपाल कार्पेट उत्पादक तथा निर्यात महासंघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए। ‘नेपालबाट निर्यात हुने गलैंचा ६० प्रतिशत अमेरिकी बजारमा जान्छ,’ उनले भने, ‘हातले बुनेको गलैंचा गुणस्तरीय भएकाले विश्व बजारमा माग छ।’

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा गलैंचा दोस्रो नम्बरमा छ। पहिलो वस्तुमा सोयाबिनको तेल भए पनि यसको कच्चा पदार्थ विदेशबाट आयात गरेर निर्यात हुने गरेकाले भ्यालु एड कम हुन्छ। सबैभन्दा धेरै भ्यालु एड भएर निर्यात हुने वस्तुमा गलैंचा पहिलो नम्बरमा रहेको शेर्पाले बताए। ‘गलैंचामा ८० प्रतिशत भ्यालु एड हुन्छ,’ उनले भने, ‘गलैंचा बेचेर विदेशी मुद्रा आर्जन गर्ने अवसर छ।’

नेपाली गलैंचा निर्यात हुने विश्वका ५० मुलुकमध्ये सबैभन्दा धेरै अमेरिकामा जान्छ। चार महिनामा दुई अर्ब ३० करोड रूपैयाँबराबरको गलैंचा अमेरिका निर्यात भएको छ। यसले नेपाली गलैंचा अमेरिकामा लोकप्रिय रहेको पुष्टि हुन्छ। अमेरिकाबाट अनलाइनमै गलैंचाको माग आउने गरेको व्यापारी बताउँछन्।

अनलाइनबाटै भुक्तानीको व्यवस्था हुने हो भने नेपाली गलैंचाको अमेरिकामा अझै बजार विस्तार गर्न सजिलो छ। ग्राहकले पठाएको डिजाइनका आधारमा गलैंचा बनाएर निर्यात गरिन्छ। अमेरिकासहित अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, चीन, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्जिया, जर्मनी, ग्रिस, हङकङ, आयरल्यान्ड, इटाली, जापान, कोरिया, कुवेत, लेबनान, माल्दिभ्स, मेक्सिको, नेदरल्यान्ड, नर्वे, ओमन, पोर्चुगल, कतार, रसिया, ताइवान, थाइल्यान्ड, टर्की, दुबई, बेलायत, अमेरिका, उरुग्वेलगायत मुलुकमा गलैंचा निर्यात हुने गरेको छ।

मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको अवस्थामा गलैंचा भने निर्यात भइरहेको छ। यो निर्यात व्यापारमा आशालाग्दो पक्ष हो। यसको गुणस्तर कायम गरी निर्यातलाई निरन्तरता दिने सके मुलुकको अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न टेवा पुग्ने छ। चार महिनाकै अवधिमा करिब चार अर्ब रूपैयाँको कार्पेट, भुइँमा प्रयोग हुने कपडाको कभरिङ निर्यात भएको छ। काठमाडौं, सर्लाही, मकवानपुर, धादिङ, सिन्धुपलाञ्चोकलगायत जिल्लामा व्यावसायिक रूपमा गलैंचा बुन्ने गरिन्छ। गलैंचा उद्योगमा करिब दुई लाख मानिसले रोजगारी पाएका छन्।

गलैंचा कुनै समय मुलुककै सबैभन्दा ठुलो निर्यात हुने वस्तु बनेको थियो। बीचका केही वर्ष निरन्तर गिरावट आएकोमा अहिले फेरि निर्यात बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब १५ करोड रूपैयाँको गलैंचा निर्यात भएको थियो। आव २०७९/८० मा १२ अर्ब २५ करोड र आव २०८०/८१ मा करिब १३ अर्ब रूपैयाँको गलैंचा निर्यात भएको थियो।

सरकारले सहयोग गरे गलैंचा उत्पादन बढाउन सकिने व्यवसायी बताउँछन्। अहिले केही कच्चा पदार्थका रूपमा उच्च हिमाली क्षेत्रमा पालेका भेंडाको रौंबाट ऊन प्रयोग हुने गरेको छ। ऊनसहित अल्लो, सिस्नो, रेसाजन्य धागो पनि प्रयोग हुन्छ। चीन, न्युजिल्याण्ड, भारतबाट पनि कच्चा पदार्थ आयात हुन्छ। ‘स्वदेशमै कच्चा पदार्थ उत्पादनमा सरकारले सहयोग गरे राम्रो अवसर छ,’ अध्यक्ष शेर्पाले भने, ‘कच्चा पदार्थका लागि उच्च हिमाली क्षेत्रका किसानलाई भेंडापालनमा सघाउनु पर्छ।’

दक्ष कामदार, आधुनिक प्रविधि, बजार प्रवर्धन अभावमा अझै अपेक्षित रूपमा गलैंचा उत्पादन हुन सकेको छैन। नेपालले निर्यातमा पाँच प्रतिशत अनुदान दिएको छ। अनुदान दिए पनि एक वर्षदेखि भुक्तानी नपाएको अध्यक्ष शेर्पाले बताए। ‘बजेट नभएको भन्दै एक वर्षदेखि अनुदान पाएका छैनौं,’ उनले भने, ‘समयमै भुक्तानी दिए केही राहत हुन्थ्यो।’

महासंघमा करिब दुई सय गलैंचा उद्योग दर्ता भए पनि सानाठुला गरी ८ सय हाराहारीमा रहेको अनुमान छ। सतप्रतिशत ऊनको गलैंचा प्रतिस्क्वायर फिट करिब दुई सय डलरमा बिक्री हुन्छ। निर्यात हुने गलैंचा हातले बुन्ने भएकाले धेरै समय लाग्छ। गलैंचा उद्योगमा अधिकांश महिलाले काम गर्छन्।

सन् १९५९ मा तिब्बतमा भएको राजनीतिक परिवर्तनपछि धेरै तिब्बती शरणार्थीका रूपमा नेपाल आएका थिए। तिनै शरणार्थीलाई लक्षित गरेर स्विस परियोजनाअन्तर्गत सरकारले ललितपुरको एकान्तकुनामा सन् १९६७ मा ‘ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टर’ स्थापना गरेर गलैंचा बुन्न थालिएको थियो।

प्रकाशित: १० मंसिर २०८१ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App