४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखराको ‘टेम्पल ट्रि रिसोर्ट’ उत्कृष्ट करदाता

<br>

पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट। फाइल तस्बिरः नागरिक

लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता ठहरिएको छ। सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय पोखराले टेम्पल ट्रि रिसोर्टलाई सम्मान पनि गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर कर कार्यालयले रिसोर्टलाई सम्मान गरेको हो।  

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गरेको करदाता टेम्पल ट्रि रिसोर्टले आर्थिक वर्ष २०७९/८० मा सबैगरि १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रुपैयाँ राजस्व तिरेको थियो। रिसोर्टका संचालक बसन्त गौतमका अनुसार टेम्पल ट्रि रिसोर्टमा सबैगरि ६८ कोठा छन्। यो रिसोर्ट १५ वर्ष देखि संचालनमा रहेको छ। सुरुमा ५० कोठा रहेको कोठामा केही वर्ष अघि कोठा थपेर ६८ पु¥याइएको थियो।  

गौतमका अनुसार रिसोर्टमा तीनथरी कोठा छन्। सुपर डिलक्स १८, सुइट ४ र बाँकी ४६ वटा डिलक्स कोठा रहेको पनि संचालक गौतमले बताए। ‘राजस्वमा पर्यटन क्षेत्रको योगदान दिएको पुष्टि भएको छ। यसले पर्यटन क्षेत्रलाई राजस्वमा योगदान दिन थप बल पनि दिएको छ,’ उनले भने।  

आन्तरिक राजस्व कार्यालय पोखरामा कूल २ लाख ५९ हजार ३० जना करदाता रहेका छन्। हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ६ सय १४ करदाता दर्ता भएका छन्। १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने इटिडिएस गर्ने प्रयोजनार्थ ६ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन्।

आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९/८० सम्मको विवरण बुझाएमा र २०८० असार सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।

कर दिवसमा अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए। उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागि आग्रह गरेका थिए। छुट सुविधा सधै नआउने भएकले फागुनभित्र सुविधा लिन उनको अनुरोध थियो।  

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनिधिले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए। यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालिलाई पनि सम्मान गरिएको थियो।  

उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धन गरेर पर्याप्त संख्यामा पोखरामा पाहुना भित्र्याउन सक्ने हो भने त्यसको लाभ राजश्वमा पनि पर्ने बताए। त्यसका लागि स्थानीय प्रशासनले पर्यटन क्षेत्रका लागि सधै सहयोग गर्ने बचन दिए।

प्रकाशित: ८ मंसिर २०८१ १७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App