९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

ऊर्जा दक्षता प्रवर्द्धन गर्न अनुदान कार्यक्रम सुरु

नेपालका उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन गर्न एक अनुदान योजना सुरु भएको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम बिहीबारबाट सुरु भएको हो ।  

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको मूल उद्देश्य उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको जनाइएको छ । जसले उद्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढवा दिने र कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

यो कार्यक्रमबाट ऊर्जा परीक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरू कार्यान्वयनमा प्रोत्साहन गर्न राष्ट्रिय वाणिज्य बैंकमार्फतआंशिक अनुदान उपलब्ध गराइने बैंकले जनाएको छ । अनुदानका निम्ति योग्य उद्योग तथा व्यवसायले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्ड अवलम्बन गरेको हुनुपर्ने सर्त राखिएको छ । 

यो कार्यक्रममार्फत ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ  हुने र विदेशी मुद्रा सञ्चितिमा समेत टेवा पुग्ने दाबी गरिएको छ ।  

यो कार्यक्रम जर्मन सरकारको सङ्घीय आर्थिक सहायता तथा विकास मन्त्रालय तथा युरोपियन युनियनको आर्थिक सहयोग र जर्मन विकास सहयोग(जिआइजेड)को प्राविधिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयद्वारा सञ्चालित रीप–ग्रीन परियोजना अन्तर्गतको हो । 

जसमा राष्ट्रिय वाणिज्य बैंकले अनुदानको व्यवस्थापनको जिम्मा पाएको छ । 

प्रकाशित: ६ मंसिर २०८१ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App