१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन:अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस-२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन।

उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने,कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक संगठन र कार्य विशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गरे।

उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने,कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए।

उनले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुने गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई निर्देशन दिए।

उपप्रधानमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए । उनले कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए।

सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भए पनि सो अनुपातमा राजश्व संकलन बढ्न नसकेको उनले बताए। उनले जिम्मेवार र जबाफदेही हिसावले राजश्व सङ्कलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिए। २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्याङ्कन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए।

बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको बताए। बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको बताए।

उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए।सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन,अन्य अनिवार्य दायित्वका खर्चहरूले श्रोतमाथिको दबाब बढिरहेको बताए।कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस-२०८१ मनाइएको हो। 

प्रकाशित: १ मंसिर २०८१ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App