पर्यटन विकासका लागि भन्दै मध्यपुर महोत्सव २०८१ ग्रिने भएको छ। मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको हो।
भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले सुसम्पन्न छ, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भने, 'आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्राउन महोत्सव गर्न लागेका हौँ।'
थिमि र खोदेजस्ता लिच्छविकालीन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरू रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको उनले बताए। झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित रहेको उनले जनाए।
त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेसा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको उनको भनाई छ। आधुनिकीकरणतर्फ द्रुत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको उनको भनाई थियो।
पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशील एवम् प्रगतिशील बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुन लागेका उनले बताए।
पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता भएको र पर्यटन प्रवर्द्धनका विविध पाटाहरूमध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार भएकोले महोत्सव गर्न लागेको उनले जनाए।
महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिब २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ। महोत्सवलाई करिब ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ कार्तिक २०८१ १६:४३ शुक्रबार