पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितभन्दा पनि विदेशी चार्टर, डेमो र आपतकालीन उडान गर्ने थलो बन्दै गएको छ।
ऋण स्वरूप लिइएको अर्बौं रूपैयाँ लगानी गरेर निर्माण गरिएको पोखरा विमानस्थलबाट सरकारले अन्तर्राष्ट्रिय उडान गराउन नसक्दा विमानस्थल अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर उडानका लागि मात्र प्रयोग भइरहेको हो।
विमानस्थलका एक कर्मचारी भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कार्गो जहाज र हिमालयन एयरलाइन्सको जहाज विशेष परिस्थितिमा अवतरण भएका छन्’, उनले भने, ‘अर्बौं लगानी गरेर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर उडानका लागि मात्र प्रयोग भइरहेको छ।’
विमानस्थल सञ्चालन भएको दुई वर्ष पुग्नै लाग्दा विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीहरूले नियमित उडान गरे पनि कुनै विदेशी एयरलाइन्स कम्पनीले नियमित उडान भरेका छैनन्।
सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण मिलाउन नसकेको अवस्थामा पछिल्लो समय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर फ्लाइटमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर फ्लाइटबाट बिहीबार दिउँसो पोखरा आइपुगेका हुन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२३ जनवरी १ तारिखमा एक समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। सोही समारोहमा विमानस्थलबाट हिमालयन एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो।
सन् २०२३ को नोभेम्बर २३ मा हिमालयन एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण गरे यता कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन्। विमानस्थलका अनुसार त्यसबेला हिमालयन एयरलाइन्सले चीनबाट ९५ जना यात्रु पोखरा विमानस्थलमा ओेरालेको थियो।
यसैबीच विभिन्न समयमा नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी उडान गर्ने कम्पनीलाई आकर्षित गर्न ग्राउन्ड हेन्डलिङ, उडान करलगायत विभिन्न सेवामा सहुलियत घोषणा गरेको थियो।
सरकारले पोखरा विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसनमा शतप्रतिशत छुट दिएको छ भने ग्राउन्ड हेन्डलिङमा ५० प्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गर्न ल्याइएको यस्तो छुट तथा सहुलियतले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय हवाई उडान कम्पनीलाई आकर्षित गर्न सकेको छैन।
यसैबीच बंगलादेशी एयरलाइन्स कम्पनी एयर एस्ट्राले पछिल्लो समय मन्त्रालयसँग छुट तथा सहुलियतको विवरण मागेको छ। गत असारमा एयर एस्ट्राले सरकारले अन्तर्राष्ट्रिय उडानका लागि उपलब्ध गराइने छुट तथा सुविधाहरूको विवरण उपलब्ध गराइ दिन अनुरोध गर्दै पत्र लेखेको थियो।
सोही क्रममा नेपाल सरकारले विदेशी एयरलाइन्स कम्पनीले नेपालमा सञ्चालन सुरु गर्दा बेहोर्नुपर्ने आर्थिक भार कम गर्न मदत गर्ने उल्लेख गरेको थियो। साथै एयर एस्ट्राले पनि नेपाली र विदेशी पर्यटकलाई बजेटमैत्री हवाईभाडा उपलब्ध गराउन प्रोत्साहित हुने एयर एस्ट्राले बताएको थियो।
नेपालको धेरैजसो पर्यटकीय गन्तव्य पोखराबाटै जानुपर्ने भएकाले पनि त्यहाँको विमानस्थलमा विदेशी कम्पनीको चासो हुने आकलन गरिएको थियो। धार्मिक स्थल मुक्तिनाथ, अन्नपूर्ण पदमार्ग, मर्दीजस्ता उच्च पहाडी तथा हिमाली ट्रेक रूटहरू, घान्द्रुक, कपुचे ताल, सिक्लेस लगायत थुप्रै पर्यटकीय गन्तव्यहरू पोखराबाट जानुपर्छ। यस्तै नेपाली पर्यटनको ठूलो हिस्सा धानिरहेका भारतीय पर्यटकको प्रमुख गन्तव्य मुक्तिनाथ हो।
पोखरा विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले चिनियाँ एक्जिम बैंकको एक अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन ऋण लिएको छ। जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन बिना ब्याजको र एक अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने शर्तमा गरेर एक अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई पाँच प्रतिशत ब्याजदरमा उपलब्ध गराएको थियो।
प्रकाशित: २३ कार्तिक २०८१ १०:१३ शुक्रबार