३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक आउजाउः सहरमा अपुग, पदमार्गमा भीड

अन्नपूर्ण आधारशिविर । फाइल तस्बिरः नागरिक

पर्यटन व्यावसायीका अनुसार पोखरामा यो बेला पर्यटन केही सुस्त छ। अघिल्ला वर्षको तुलनामा यो पटक आन्तरिक पाहुना कम आएको र विदेशीको आगमन पनि खस्किदा पोखराको पर्यटन क्षेत्र सुस्ताएको व्यावसायीले गुनासो गरिरहेका छन्।  

मुख्य सहरमा पर्यटन सुस्त भएको गुनासो व्यावसायीले गरिरहँदा पोखरा नै मुख्य प्रवेशद्वार मानिने अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पर्यटनमा भने पाहुना थेगिनसक्नु रहेको त्यहाँका पर्यटन व्यावसायीले बताएका छन्। अन्नपूर्ण आधारशिविर पदमार्गमा गत आइतबार एकैदिन विदेशी र आन्तरिक गरेर सातसय भन्दा बढी पाहुना उक्लेका छन्।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को छोमरोङ चेकपोष्टका कर्मचारी नेत्र शर्माका अनुसार गत आइतबार एकैदिन अन्नपूर्ण आधारशिविरका लागि सातसय भन्दा बढी पाहुना गएका थिए। अहिले पनि दिनमा ४ सय ५० जनाको हाराहारीमा पाहुना उक्लिरहेको उनले बताए। शर्माका अनुसार गतआइतबार ३ सय १२ जना विदेशी र ४ सयजना आन्तरिक गरि सातसय भन्दा बढी पाहुना आधारशिविरका लागि उक्लेका थिए।  

‘गत आइतबार एकदिन मात्र ७ सय बढी पाहुना गएका हुन । अरुदिन ५ सय जनाजति थिए। अहिले पनि दिनमा ४ सय ५० जनाको हाराहारीमा पाहुना उक्लिरहेका छन,’ शर्माले भने, ‘यतिबेला पदमार्गमा पाहुनाको आकार ठुलो छ।’ उनका अनुसार पछिल्ला दिन २ सय ५० हाराहारीमा आन्तरिक र २ सय हाराहारीमा विदेशी गरि ४ सय ५० जना पाहुना आधारशिविर गईरहेका छन। ‘यो आगमनलाई नराम्रो भन्न मिल्दैन। आन्तरिकको आगमन राम्रो हो । बरु, सोचेजति विदेशी भने नआएकै हुन,’ उनले भने।  

उनका अनुसार अहिलेको भीडभाड अझै केहीदिन रहनेछ। किनकी आन्तरिक पाहुनाको आगमन तिहारसम्म अहिलेकै आकारमा चल्नेछ। विदेशीको भने नोभेम्बर मध्यसम्म आगमन राम्रो हुनेछ। ‘सहरतिर होटल धेरै भएकोले पाहुना पनि त्यही अनुसार आवश्यक पर्छ। तर एबिसी क्षेत्रमा सीमित पाहुना आउँदा पनि भीडभाड हुन्छ, पदमार्गको क्षमता अनुसार अहिलेको आगमन पर्याप्त हो,’ उनले भने, ‘पदमार्गमा भीडभाड छ। सहरका लागि भने अपुग छ।’  

छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अन्नपूर्ण आधारशिविर क्षेत्रमा यो बेलाको आगमन राम्रो रहेको छ। ‘पोखरा क्षेत्रका लागि यो संख्या कम हो। तर, आधारशिविर क्षेत्रमा भने अहिलेको आगमन कमजोर मान्न मिल्दैन,’ उनले भने, ‘पोखरा क्षेत्रमा पाहुना कम भएपनि अन्नपूर्ण आधारशिविर उक्लिने पाहुना भने पर्याप्त छन।’ एकैदिन ७ सय जनासम्म पाहुना आएपनि खान र बस्नको समस्या भने नरहेको उनले बताए। ‘सबैजना पाहुना एकैठाउँ बस्ने होईनन् । पदमार्गको ठाउँठाउँमा होटल छन। तिनै होटलमा बस्ने हुन। गन्तव्य अनुसार पाहुना आउजाउ गर्ने भएकोले बसोबास र खानपिनमा समस्या छैन,’ उनले भने।  

 घान्द्रुकको ब्यापार पोहोर भन्दा कमजोर  

अन्नपूर्ण आधारशिविर सुरु हुने पर्यटकीय गाउँ घान्द्रुकमा भने अघिल्ला वर्षजस्तो पाहुना नपुुगेको त्यहाँका व्यावसायीले बताएका छन्। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका पूर्व अध्यक्ष किसम गुरुङका अनुसार पोहोरजस्तो विद्यालय, आमा समूह, युवाक्लवबाट अहिले पाहुना उक्लेका छैनन।  

‘पोहोर हुलका हुल बस रिर्जभ गरेर विद्यालयका विद्यार्थी, आमा समूह, युवा क्लवबाट आन्तरिक पाहुना आएका थिए। अहिले त्यो अवस्था छैन। मोटरसाइकल चढेर आउने आन्तरिक पाहुना छन। तर, त्यो संख्या पर्याप्त होईन,’ उनले भने, ‘आधारशिविरको पदमार्गमा थोरै संख्यामा जाँदा पनि खचाखच हुन्छ। तर, घान्द्रुकमा भने पोहोरजस्तो भीड अहिले छैन। घान्द्रुकको ब्यापार पोहोर भन्दा कमजोर छ।’

उनका अनुसार पोहोर भन्दा अहिले भारतीय पाहुना भने घान्द्रुकमा बढेका छन। भारतीय बाइक राइडरको संख्या अघिल्ला वर्ष भन्दा बढेको उनले सुनाए। ‘भारतको मुम्बइदेखि बाइक राइडरहरु पोखरा हुँदै घान्द्रुक आएका छन। यो आगमनले आगामि दिनमा पोखरा थप भारतीय पाहुना बढ्ने अपेक्षा छ,’ उनले भने, ‘तर यो पटक बाटोघाटोका कारण केही विदेशी र बढी स्वदेशी पाहुना प्रभावित भएका छन।’

राजमार्गको यात्रा अवधि एकघण्टा मात्र थपिएको होः नाट्टा  

दसैंको मुखमा भीषण वर्षा हूँदा पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्यो। पहिरोमा परेर मानवीय र भौतिक क्षति पनि ठुलै भयो। दसैंको मुखको विपद्का कारण राजमार्गको यात्रा पनि कठिनपूर्ण र अनिश्चित बन्यो। राजमार्गको अप्ठेरोका कारण यो वर्ष ठुलो आकारमा आन्तरिक पाहुना गुमाएको पोखराको पर्यटन क्षेत्रले गुनासो गरिरहेको पनि छ।  

‘राजमार्गमा केही समस्या छ। तर, यात्रा नै असुरक्षित भन्ने अवस्था होईन। पोखरा–काठमाडौं राजमार्गबारे गलत सन्देश प्रवाह भएर पनि यो पटक धेरै पाहुना यात्रामा निस्कन डराएका हुन,’ नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी किशोर दाहाल भन्छन, ‘विपद्का सुरुका केहीदिन समस्या भएकै हो। तर, त्यसपछि वर्षा रोकिएको र राजमार्ग पनि सफा भईसकेको छ। दसैंका कारण सरकारले पनि राजमार्ग छिटोगरि सफा गरेको हो। ठाउँठाउँमा झरेको पहिरोले राजमार्गमा अवरोध गर्दा यात्रामा केही अप्ठेरे पारेको भएपनि पूरै जोखिमयुक्त भन्न मिल्दैन।’  

राजमार्गको यात्रा अवधि विपद् अघिको भन्दा एकघण्टा बढेको मात्र उनले बताए। ‘वर्षाले काठमाडौंलाई पूर्वतिर जोड्ने राजमार्गमा बढी क्षति भयो। त्यसपछि सबै सवारी पृथ्वी राजमार्ग हुँदै ओहोरदोहोर गर्दा सवारीको भीड बढ्यो। त्यसले गर्दा पनि राजमार्गमा भीड भएको हो,’ दाहालले भने, ‘राजमार्गका एकाध ठाउँमा समस्या भएकै छ। तर, बाहिर हल्ला भएजस्तो पुरै असुरक्षित भन्ने होईन। अहिलेको अवस्थामा केही समय बढी लागेको मात्र हो।’  

पोखरादेखि मुग्लिनसम्मको यात्रामा भने उत्तिसारो अप्ठेरो नरहेको उनले बताए। ‘मुग्लिन–काठमाडौं केही अप्ठेरो हो। तर, मुग्लिन–पोखरा समस्या छैन। सिद्धार्थ राजमार्गमा पनि यात्रा सहज छ,’ उनले भने, ‘पोखरा आउन उत्तिसारो समस्या होईन।’ अहिले पोखराबाट काठमाडौंका लागि नियमित रुपमा पर्यटक सवारी संचालन भइरहेको पनि उनले बताए। पोखरा भित्रिएपछि घुमघाममा कुनै समस्या नरहेको पनि उनले बताए।  

प्रकाशित: ३ कार्तिक २०८१ १७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App