३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

सम्बोधन हुन नसक्ने मागमा सम्झौता नगरौं: उपसभापति खड्का

<br>

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन हुन नसक्ने मागहरूमा सम्झौता गर्न नहुने बताएका छन्।

उनले पछिल्लो समय देशमा आन्दोलनकर्ता र सरकारबीच पूरा हुनै नसक्ने मागहरूमा पनि सम्झौता हस्ताक्षर हुने गरेको बताउँदै सरकार र आन्दोलनरत पक्षहरूले आफ्नो सीमा, भूमिका, क्षेत्र र मुलुकको अर्थतन्त्रलाई ध्यान दिनुपर्ने बताए।

‘सरकारले गर्न नहुने, गर्न नसक्ने, सम्बोधन नहुने सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन, आन्दोलनकर्ताले पनि सम्बोधन नहुने, पूरा नहुने माग उठाएर हस्ताक्षर गरेर साध्य छैन्,’ शनिबार वीरेन्द्रनगरमा ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश परिषद्को उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘दुवै थरीले आफ्नो सीमा, भूमिका, क्षेत्र र मुलुकको अर्थतन्त्रलाई हेरेर सम्झौतामा हस्ताक्षर गर्नुपर्छ।’

उनले ट्रेड युनियन कांग्रेसले उठाएका मागहरू संभव हुने समस्याको समाधान, देशको अर्थतन्त्रले धान्नेसम्म पूरा गर्ने प्रतिवद्धता जनाए। ‘तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य योजना बनाएर तपाइहरूका मागहरू पूरा हुन्छन्,’ उनले भने, ‘अहिले नै सबै मागहरू पूरा हुँदैनन्, यसतर्फ मनन गर्नुहोला।’

उपसभापति खड्काले ट्रेड युनियन कांग्रेस पार्टीको ऐतिहासिक, महत्त्वपूर्ण, प्रभावशाली भातृ संस्थाको रुपमा रही आएको बताए। उनले मजदुरहरूका समस्या, पीडाहरूलाई सम्बोधन गर्ने पवित्र उद्देश्यसहित जन्मिएको संस्था भएकाले ट्रेड युनियन कांग्रेसले सोही अनुसार आफूलाई अघि बढाउँदै लिनुपर्ने बताए।

‘मजदुरसँग जोडिएका दैनिक पारिश्रमिक, सामाजिक सुरक्षा, श्रमिकलाई शोषणबाट मुक्त गराउने अभियान, अतिरिक्त पारिश्रमिकको कुराका विषयमा ट्रेड युनियन कांग्रेसले अगुवाइ गर्दै आइरहेको छ,’ उनले भने, ‘यस क्रममा कहिले सरकारसँग वार्ता संवाद त कहिले सडक सङ्घर्ष गर्दै आइरहेको छ।’

उनले नेपालको राजनीतिक परिवर्तनमा पनि ट्रेड युनियन कांग्रेसले महत्त्वपूर्ण भूमिका रहेको बताए।

उपसभापति खड्काले ट्रेड युनियनभित्र औपचारिक र अनौपचारिक क्षेत्रबीच केही समस्या रहेको बताउँदै त्यसको समाधानमा लाग्न निर्देशन दिए।

‘मूल ट्रेड युनियनले अनौपचारिक क्षेत्रलाई महत्व दिएन भन्ने गुनासो सुनिन थालेको छ,’ उनले भने, ‘त्यसतर्फ ट्रेड युनियनको नेतृत्वले ध्यान दिन आवश्यक छ।’

प्रकाशित: ३ कार्तिक २०८१ १८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App