३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोट ट्रक दुर्घटनामा ज्यान गुमाएका चालकको सनाखत

<br>

तस्बिर: सामजिक संजालबाट।

कालिकोटमा शनिबार ट्रक दुर्घटनामा परी ज्यान गुमाएका चालकको सनाखत भएको छ।

दुर्घटनामा रुपन्देहीको बुटवल–१३ बस्ने हुमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

जुम्लाबाट समान बोकेर सुर्खेत तर्फ जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका-५ खल्ला भन्ने ठाउँमा शनिबार अपराह्न दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। उनीहरु ट्रकमै सवार रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ २०:१२ शनिबार