कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय तथा मातहतका कार्यालयहरूको बेरुजू दुई अर्ब ३९ करोडभन्दा बढी देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको मन्त्रालयको जम्मा बेरुजू दुई अर्ब उनान्चालिस करोड आठ लाख ८० हजार सात सय रुपैयाँ रहेको छ।
जसमध्ये नियमित गर्नुपर्ने बेरुजू एक अर्ब ७४ करोड ६० लाख १९ हजार १ सय ६६ रुपैयाँ, पेश्की कायम बेरुजू २८ करोड नौ लाख ७६ हजार १ सय ८६ रुपैयाँ रहेको छ। असुलउपर गर्नुपर्ने बेरुजु ३६ करोड ५१ लाख ७४ हजार ९सय ४० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय मोरङको बेरुजू अन्य कार्यालयको भन्दा बढी देखिएको छ। पूर्वाधार विकास कार्यालय मोरङको मात्रै एक अर्ब नौ करोड ५८ लाख ८९ हजार ६सय २१ रुपैयाँ वेरुजु रहेको छ। जसमध्ये असुलउपर गर्नुपर्ने बेरुजू रकम १८ करोड ६२ लाख ९३ हजार २ सय ३५ रुपैयाँ छ।
तथ्याङ्क अनुसार मन्त्रालयको बेरुजू २ करोड ४३ लाख ८९ हजार ८४ रुपैयाँ, यातायात पूर्वाधार निर्देशनालयको ८ करोड ४४ लाख ५१ हजार ९ सय चार, पूर्वाधार विकास कार्यालयहरुमध्ये पाँचथरको २८ करोड एक लाख ६३ हजार ६४६, संखुवासभाको ६० लाख ७७ हजार २ सय ६१, भोजपुरको सात करोड ५३ लाख ८३ हजार ८ सय ३१, ओखलढुंगाको १६ करोड ८५ लाख २९ हजार ७ सय ६ , उदयपुरको तीन करोड ७५ लाख ६५ हजार ६ सय ६४, झापाको १३ करोड ४६ लाख नौ हजार २ सय १ रुपैयाँ रहेको छ।
यस्तै शहरी विकास तथा भवन कार्यालयहरुमध्ये इलामको १४ करोड ९८ लाख २६ हजार ४ सय ६, धनकुटाको नौ करोड ७४ लाख ५१ हजार ३ सय १५, ओखलढुंगाको तीन करोड ६४ लाख ५६ हजार ८ सय ५० र मोरङको दुई करोड ८६ हजार २ सय ३१ रुपैयाँ रहेको छ।
मन्त्रालय मातहत रहेको ग्रामीण सडक संजाल सुधार आयोजनामा भने कुनै बेरुजू नरहेको तथ्याङ्कमा उल्लेख छ कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बेरुजु घटाउन मातहतका कार्यालयलाई परिपत्र गरेर निर्देशन दिइसकेको बताएका छन्।
कोशी प्रदेश सरकार अन्तर्गतका सबै सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको अन्तिम लेखापरीक्षणको बेरुजूमध्ये फट्र्यौट तथा सम्परीक्षण गरी उक्त रकम बाँकी रहेको हो। त्यसमध्ये असुलउपर गर्नुपर्ने बेरुजू रकम मात्रै ७७ करोड ८ लाख ५० हजार रुपैयाँ छ।
प्रकाशित: २७ आश्विन २०८१ १९:१२ आइतबार