१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

असिनाले रुवायो भक्तपुरे किसानलाई

भक्तपुरको चाँगुनारायण नगरपालिका सुडालमा बुधबार दिउँसो परेको असिना । असिनापानीले यहाँका धेरै किसानको तरकारीबाली नष्ट पारेको छ ।तस्बिर ; नागरिक

भक्तपुर – किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन्।

काट्न ठिक्क हुन लागेको गहुँबारीलगायत तरकारीबाली असिनापानीले नष्ट पारेपछि जिल्लाका किसानमा पीडा थपेको छ । भारी वर्षासहित परेको असिनापानीले गहुँसहित जिल्लाका ठाउँठाउँका खेतमा लगाएका काउली, बन्दाकोपी, आलु, प्याज, लसुनलगायत नगदेबालीमा क्षति पुर्‍याएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका सुडालकी लक्ष्मीशोभा दुलालले दिउँसो परेको भारी वर्षासहितको असिनापानीले आफ्नो मात्रै नभई स्थानीय धेरै किसानको तरकारीखेतीमा असर पारेको बताइन् । ‘जहिले पनि बाली भिœयाउन ठिक्क परेपछि असिनापानीले नष्ट गरेर हैरान भयो,’ उनले पीडा पोखिन्, ‘यो वर्ष पनि यस्तै भयो ।’ उनका अनुसार असिनापानीले वर्षैपिच्छे बालीनाली नष्ट पारे पनि अहिलेसम्म कहीकतैबाट क्षतिपूर्ति मिलेको छैन । असिनापानीले तरकारीबालीलाई नष्ट पारेपछि कृषि विकास कार्यालयलगायतलाई जानकारी दिनुबाहेक केही नभएको उनले जनाइन्।  

बुधबार जिल्लाका झन्डै सबै ठाउँमा ठूलो पानी परेको थियो । त्यसमध्ये केही ठाउँमा असिनापानी परेको थियो । जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्राविधिक सहायक होमा उप्रेतीले असिनापानी परेको खबर प्राप्त भएपनि क्षतिको विवरण भने आउन नसकेको जनाइन् । ‘जिल्लाका चारवटा नगरपालिकाका चारवटा कृषि सेवा केन्द्रमा किसानले जानकारी गराएपछि मात्रै क्षतिको विवरण संकलन हुन्छ,’ उनले खुलाइन्।

चाँगुनारायण नगरपालिका ताथली सेवा केन्द्रका प्रमुख शंकर रञ्जितकारले सबैतिर भारी वर्षा भएपनि केही ठाउँमा असिना परेको जानकारी आफूले पाएको बताए । ‘तरपनि कति क्षति पुग्यो भने तथ्यांक अहिले नै आउन गाह्रो छ,’ उनले नागरिकसँग भने।

 जिल्ला कृषि विकास कार्यालय भक्तपुरले राखेको तथ्यांकअनुसार भक्तपुरको कुल उत्पादनयोग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धानबाली लगाइन्छ। धानबाली जस्तै गहुँबाली लाग्ने खेतको संख्या भने कमी हुन्छ । किनकि गहुँबालीको समयमा यहाँ इँटाभट्टा चल्छ । धेरै किसानले गहुँबाली नलगाई खेत इँटाभट्टालाई दिने भएकाले यहाँ धानको तुलनामा गहुँबाली लगाउने खेत निकै कम मात्रै हुन्छ।  

भक्तपुरका चारवटामध्ये पुराना भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानव वस्तीले भरिएकाले त्यहाँ खेतीयोग्य जमिन खासै छैन । तर नयाँ नगरपालिकाको रुपमा रहेको सूर्यविनायक र चाँगुनारायण दुवै नगरपालिका क्षेत्रमा भने प्रसस्त मात्रामा खेतीयोग्य जमिन छन् र खेती किसानी चल्छ ।

 

 

प्रकाशित: २२ चैत्र २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App