४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुम्लामा चार दिने प्याराग्लाइडिङ महोत्सव

जुम्लाको गुठीचौर गाउँपालिकामा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन गुठीचौरले महोत्सव आयोजना गरेको हो।

कचौरा आकारको गुठीचौर पाटनमा सुरु भएको यस महोत्सवमा एकै पटक आठ वटा प्याराग्लाइड उडिरहेका छन्। गाउँपालिकाको भूगोललाई पर्यटनका लागि अझ आकर्षक बनाउने उद्देश्यले सुरु गरिएको महोत्सवले गुठीचौरलाई साहसिक खेल पर्यटन केन्द्र बनाउने पालिकाले विश्वास लिएको छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गुठीचौरको भूगोल प्याराग्लाइडिङका लागि उपयुक्त भएकाले व्यावसायिक उडानसमेत सुरु गर्ने योजना रहेको सुनाए। उनले भने, “गुठीचौरको प्राकृतिक सौन्दर्यले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सफल हुने विश्वास लिएका छौं।”

खलंगादेखि डोल्पाको सेफोक्सुन्डो यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो महोत्सवले थप उत्साह भर्ने उनी सुनाउँछन्।

प्याराग्लाइडिङबाट पर्यटकहरूले गुठीचौर पाटनको सुन्दरता, सयौंथरीका फूलहरू, जडीबुटी र भेडीखर्कहरूको अवलोकन गर्न पाउनेछन्।

शुक्रबार एक उडानसँगै महोत्सवको उद्घाटन गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरे।

शनिबार बिहानदेखि नियमित उडानहरू सुरु भइसकेका छन्। जसका लागि आठ जना पाइलट तयारी अवस्थामा छन्।

गाउँपालिकाभित्रकालाई प्रति उडान ३ हजार रुपैयाँ र बाहिरकालाई ४ हजार रुपैयाँ शुल्क तोकिएको छ। महोत्सव लगत्तै छ जनालाई तालिम दिने र प्याराग्लाइड खरिद गरी व्यावसायिक उडान सुरु गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ।

प्रकाशित: २९ भाद्र २०८१ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App