१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

वार्षिक साढे १२ अर्बको पेट्रोल आयात घटाउन सकिने

पेट्रोलियम पदार्थमा इथानोलको प्रयोग

पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने करिब साढे १२ अर्ब रूपैयाँको पेट्रोल आयात घटाउन सकिने देखिएको छ। नेपाल आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ।

यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ।

निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ। पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा यो करिब १२ अर्ब ४१ करोड रूपैयाँ हुन्छ।

पेट्रोलमा इथानोल मिश्रण गर्न सके दैनिक चार लाख लिटर पेट्रोल खपत कम हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले बताए। ‘पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी अघि बढाएका छौं,’ भट्टले भने, ‘स्वदेशमै इथानोल उत्पादन गरेर प्रयोग गर्न सकिन्छ।’

भारतले धेरै वर्ष पहिलेदेखि पेट्रोलमा इथानोल मिश्रण गरेर उपभोक्तालाई पेट्रोल बिक्री गर्दै आएको छ। इथानोल बर्निङ पावरयुक्त प्रज्ज्वलनशील पदार्थ हो। इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ। यो उखु, पराल, सुकेका घाँस लगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। इथानोल मिसाए पेट्रोलियम पदार्थको खपत पनि कम हुन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ।

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। भारत सरकारले इथानोल उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिएको छ। इथानोलको मिश्रणलाई वातावरण मैत्री पनि मानिन्छ।

सरकारले २०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने सूचना प्रकाशन गरेको थियो। भारतमा बिक्री हुने पेट्रोलमा ठाउँ अनुसार १२ देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरेको नेपाल आयल निगमका डेपुटी मेनेजिङ डाइरेक्टर वीरेन्द्र गोइतले बताए।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गरेर बिक्री गर्दै आएको छ। ‘आइओसीले धेरै अघिदेखि इथानोल मिश्रण गरेर पेट्रोल बिक्री गर्दै आएको छ,’ गोइतले भने, ‘नेपालमा प्रयोगमा आएको छैन।’ नेपालमा इथानोल उत्पादन भए प्रयोग गर्न कुनै जटिलता नरहेको उनले बताए।

पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमै योजना बने पनि कार्यान्वयन हुन सकेको छैन। उत्पादन र प्रयोगको बारेमा कार्यविधि नबन्दा ढिलाइ भएको हो। पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति लिएर सरकार अघि बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको बृहत् बहस’ कार्यक्रममा मन्त्री भण्डारीले पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्य अघि बढाउने गरी नीति तयार गरिएको जानकारी दिए। ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ,’ भण्डारीले भने, ‘अब मूल्य निर्धारण गर्न बाँकी छ।’

पेट्रोलियम पदार्थको खपत कम हुने भएकाले आवश्यक तयारीका लागि आयाल निगमलाई निर्देशन दिएको उनले बताए।

निजी क्षेत्रले भने यसको प्रयोगमा शंका व्यक्त गरेको छ। सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिरहेको अवस्थामा इथानोलको प्रयोगका विषयमा गहन छलफल गर्नुपर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।

‘पेट्रोलियम पदार्थमा इथानोलको मिश्रणका बारेमा गम्भीर छलफल आवश्यक छ,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘पेट्रोलियम पदार्थको आयात घटिरहेको र इभी गाडीमा प्रोत्साहन गरेको बेला इथानोल मिश्रण किन र कति आवश्यक हो? दैनिक चार हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भइरहेको अवस्थामा अहिले घटेर दुई हजार किलोलिटरमा झरेको उनले बताए।

पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भए पनि उपभोक्ता र वातावरणमैत्री हुनुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको तर्क छ। ‘इथानोल मिश्रण गर्दा वातावरण र उपभोक्तालाई ध्यान दिनुपर्छ,’उनले भने।

प्रकाशित: २५ भाद्र २०८१ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App