१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’

नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको संघको भनाइ छ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँछौं। कम्पनीमा कायम रहेका सबै सेयरधनीजस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा भेदभाव गरिनु न्यायोचित हुँदैन।’

संघ अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्य आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई त्यस्तो प्रावधान सच्याउन आग्रह गरेको छ। 

लगानीका दृष्टिबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघ अध्यक्ष मल्लले बताए।

सञ्चालकले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ। 

कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी काममासमेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लको भनाइ छ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्छौं।’

प्रकाशित: १९ भाद्र २०८१ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App