३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सकियो नाडा अटो सो: ७५ हजार बढीले गरे अवलोकन, २ हजारभन्दा बढी कार बुक

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत भदौ ११ गतेदेखि सुरु भएको १६औं संस्करणको नाडा अटो शो–२०२४ आइतबार सम्पन्न भएको छ। काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा सम्पन्न भएको छ। नाडा अटो सोमा करिब दुई हजार सवारी साधन बुक भएको आयोजकले जनाएका छन्। 

भदौ १५ गते शनिवारसम्ममा करिब ७५ हजार अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरिसकेको अटो शोका सभापति अनुपकुमार बरालले जानकारी दिए। यो वर्षको अटो शोको लक्ष्य पूरा भएको आयोजकको दाबी छ। खासगरी दशैंतिहार र छठ जस्ता मुख्य पर्वलाई लक्षित गर्दै नाडाले प्रत्येक वर्ष नाडा अटो शोको आयोजना गर्ने गरेको छ। 

यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन आयोजना गरिएको अटो शोमा चार पाङ्ग्रेका २४ वटा, दुईपाङ्ग्रेका १९ वटा, ३३ वटा अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, ब्याट्री तथा एसोसरिज ब्राण्ड तथा कम्पनीहरू गरी १३० वटा स्टलहरू राखिएको थियो।

नाडामा चारपांग्रे सवारीमा मात्र नभई दुईपांग्रे मोटरसाइकल तथा स्कुटर, हेल्मेट, लुब्रिकेन्ट्समा पनि छुटैछुटको अफर राखिएको थियो। अटो सोमा विभिन्न ब्रान्डका कम्पनीहरूबीच ग्राहकलाई आकर्षित गर्न छुट अफर दिन प्रतिस्पर्धा नै देखिन्छ। चार पांग्रे सवारीमा विद्युतीय सवारीको ब्रचस्व रहेको थियो।

कार: आविष्कारदेखि स्वचालित ड्राइभिङसम्म

वाष्प इन्जिन निर्माण भएपछि पानी जहाज, रेल र कारखानाका ठूला मेसिनहरू निर्माण भए। सडकमा पनि यसलाई उपयोग गर्न अनेक कसरत भए तर कोही पनि सफल हुन सकेनन्। सन् १८८६ मा मोटर कार बनेपछि सडकमा फाट्टफुट्ट देखिन थालेका थिए। 

सन् १९०० सम्म आइपुग्दा २५ हजारभन्दा बढी कार सडकमा दौडिन थालिसकेका थिए। सन् १९१० सम्ममा त मोटरकारको संख्या १० लाख पुग्यो। अहिले संसारभरि नै कार उत्पादन गरिन्छ र हरेक वर्ष चार करोड कार कारखानाबाट उत्पादन भइरहेका छन्। यस्तो छः मोटरकारको इतिहास:-

-१४ मे, १८८६ः कार्ल बेन्जले पहिलो मोटर कार निर्माण गरे, जसलाई उनले बेन्ज पेटेन्ट–मोटरवागन नामकरण गरे।

-४ जुन, १८९५ः हावा हाल्ने विधिले फुलाइने पहिलो टायर निर्माण सुरु।  

- १९ जुलाई, १९०३ः फोर्ड मोटर कम्पनीको स्थापना। पहिलो व्यावसायिक वर्षमै एक हजार सात सय कार बिक्री।

- १९०८ः विलियम डुरान्टद्वारा जनरल मोटर्सको स्थापना। पछि विश्वकै सबैभन्दा ठूलो कम्पनीमा परिणत।

- १६ नोभेम्बर, १९०८ः फोर्ड मोटर कम्पनीले पहिलो मोडल टी कार बजारमा ल्यायो। जसलाई ‘टिन लिजी’ भन्ने उपनामले पनि चिनिन्थ्यो।

- १९११ः पहिलो इलेक्ट्रिक स्टार्टरहरू आविष्कार गरियो, जसले कार सुरू गर्न आवश्यक क्य्राङ्किङ मेकानिजमलाई हटायो। एक वर्षपछि इलेक्ट्रिक इग्निसन सुरु भयो।

- ३० मे, १९१२ः एक प्रहरी अधिकृतले पहिलो विद्युतीय ट्राफिक लाइट आविष्कार गरे। दुई वर्षपछि यसलाई अमेरिकाको ओहायोको क्लिभल्यान्डको एक सडकमा स्थापना गरियो।

- १९१३ः फोर्ड मोटर कम्पनीले कार निर्माणका लागि पहिलो मोबाइल एसेम्ब्ली लाइन आविष्कार गर्दै प्रयोगमा ल्यायो ।

- १९१४ः डोज कम्पनीले पहिलो पटक पूर्ण रूपमा स्टिलबाट बनेको कारको बडी बजारमा ल्यायो।

- यही बेला पहिलो चार पांग्रे ब्रेक भएको कारको निर्माण सुरु।  

- ड्युसेनवर्ग मोडल एमा ४९ पांग्रे हाइड्रोलिक ब्रेक सुरु

- १९२१ः चार पांग्रे ब्रेकहरूको आविष्कार। जसले मोटर चालकहरूलाई सुरक्षित रूपमा रोक्न सजिलो बनायो।

- १९२५ः कारमा पहिलो सिगरेट लाइटर थपियो।

-२८ अप्रिल, १९२६ः जोन गोडफ्रे पेरी थोमसले दुई सय ७२ किलोमिटर प्रतिघण्टाको गतिले ड्राइभ गरेर नयाँ गतिको कीर्तिमान राखे।

- १९३१ः मर्सिडिज बेन्जले पहिलो पटक स्वतन्त्र सस्पेन्सन प्रणाली जडान ग¥यो। यसले यी कार ह्यान्डलिङ गर्न सहज बनायो।

- ८ अक्टोबर, १९३३ः गल्भिन म्यानुफ्याक्चरिङले पहिलो कार रेडियो बनायो।

- १९३५ः डेलावेयर कम्पनीले पहिलो फ्ल्यासिङ टर्न सिग्नल आविष्कार ग¥यो।

- ४ जुन, १९३८ः भोक्सवागनले जर्मनीमा बिटल कार उत्पादन गर्न थाल्यो।

- १९३९ः नास मोटर कम्पनीले सवारी साधनमा पहिलो वातानुकूलन प्रणाली थप्यो।

- १९४०ः कार्ल पाबस्टले जीप डिजाइन गरे, जुन दोस्रो विश्वयुद्धमा एलाइड फोर्सका सेनाहरूका लागि महत्त्वपूर्ण सवारी साधन बन्न पुग्यो।

- १९५०ः एउटा गतिमा कारलाई सेट गरिसकेपछि एक्सलेटर प्रयोग नगरी गरिने यात्रालाई क्रुज कन्ट्रोल भनिन्छ। यो क्रुज कन्ट्रोल एक जना नेत्रहीन व्यक्ति राल्फ टिटोरले आविष्कार गरेका थिए।

- १९५६ः पावर स्टेयरिङ पांग्रा आविष्कार भयो र कारहरूमा थपियो।

- ४ मे, १९५८ः स्वीडेनमा पहिलो पटक कारमा सिट बेल्ट स्थापना गरियो।

- १९६५ः सवारी साधनमा आठ ट्र्याक टेप प्लेयरहरू थपेर संगीत गुञ्जायमान हुने बनाइयो।

- १९६९ः तीन गियर भएको अटोमेटिक ट्रान्समिसन सुरु भयो र पछि यसैलाई मानक बनाइयो।  

- १९७०ः केही कारहरूमा क्यासेट डेकहरू देखा पर्न थाले।

- १९७४ः जेनरल मोटरले बनाएका कारहरूमा पहिलो पटक एयरब्याग पनि थप्न मिल्ने गरी उत्पादन थाल्यो।

- ४ अक्टोबर, १९८३ः रिचर्ड नोबलले ब्ल्याक रक डेजर्टमा कार चलाएर एक हजार १९ किलोमिटर प्रति घण्टाको नयाँ गति कीर्तिमान बनाए।

- १९८४ः पहिलो कार सिडी प्लेयरहरू देखा परे।

- १९८५ः एन्टी–लक ब्रेकिङ प्रणालीहरू अमेरिकी कारहरूमा उपलब्ध भए।

- १९८८ः क्रिसलर कम्पनीले पहिलो सार्वजनिक उत्पादन एयरब्याग सुरु गर्‍यो, सुरुमा चालकलाई मात्र राखिने चलन थियो ।

-१९९४ः फोर्डका कारहरूमा पहिलो अन–बोर्ड डायग्नोस्टिक कम्प्युटरहरू स्थापना गरियो र पछि यस्तो सुविधा सबै सवारी साधनहरूको मानक बन्न पुग्यो।

- २०००ः टोयोटाले पहिलो पटक हाइब्रिड मोटरहरू उत्पादन गर्न थाल्यो।

- २००२ः पहिलो पटक निशान प्राइमेरा मोडलको कारमा रिभर्सिङ क्यामेराहरू थपियो।

- २००३ः टोयोटाले केही सवारी साधनमा पहिलो इन्टेलिजेन्ट पार्किङ असिस्ट प्रणाली थप्यो।

- २०१४ः इलन मस्कले आफ्नो मोडल एस कारमा पहिलो अटोपाइलट प्रविधि सुरु गरे। यसपछि चालक बिना नै स्वतन्त्र रूपमा स्टेरिङ गर्न र लेन परिवर्तन गर्न सक्ने भयो।

- २०२०ः गुगलले एउटा स्वचालित ड्राइभिङ कार सुरु गर्ने योजना घोषणा गर्‍यो, जुन वेमो कम्पनीका रूपमा स्थापित भयो।

प्रकाशित: १७ भाद्र २०८१ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App