९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

विराटनगरमा 'नारी उत्सव'को तयारी

महिला उद्यमीका उत्पादन प्रबर्धन र बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिले विराटनगरमा ‘नारी उत्सव २०८१’  आयोजना गर्ने भएको छ । 

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी संघले भदौ १४ देखि १६ गतेसम्म विराटनगरस्थित सिटी पार्टी प्यालेसमा नारी उत्सव २०८१ आयोजना गर्न लागेको जानकारी दिएको हो ।  

मोरङ व्यापार संघ महिला उद्यम समिति संयोजक श्रुति शर्माले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा संलग्न महिला उद्यमीहरूको उत्पादन तथा सेवाको प्रबर्धन गर्न उत्सवले सहयोग पुर्‍याउने जानकारी दिइन् ।  

शर्माका अनुसार उत्सवमा ६० वटा स्टलहरू राखिनेछन् । पहाड तथा दुर्गम क्षेत्रबाट सहभागी महिला उद्यमीहरूलाई निःशुल्क स्टलको व्यवस्था गरिएको शर्माले जानकारी दिइन् । उत्सवमा कलाकारहरूले मनोरञ्जनात्मक कार्यक्रमहरूपनि प्रस्तुत गर्नेछन् ।  

पत्रकार सम्मेलनमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उत्सव आयोजनाका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए । उनले उत्सवलाई कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिकाले सहयोग गरेका छन् । यस्तै विभिन्न बैंक तथा विमा कम्पनीहरूसमेत प्रायोजन गरी सहयोग गरेका छन् ।  

मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजालले महिला उद्यमीहरूलाई प्रोत्साहन र महिलाहरूले उत्पादन गरेका उत्पादनहरूको प्रबद्र्धनका लागि उत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा महिला उद्यमसमितिका पदाधिकारीहरू, मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रकाशित: ९ भाद्र २०८१ १८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App