२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीका समस्यामा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सहकारी क्षेत्रका समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेको छ। महासंघकी अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको टोलीले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी गराएको हो।

महासंघका अध्यक्ष मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने विषय तत्काल कार्यान्वयन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताइन्।

त्यसैगरी सहकारीलाई सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। उनले सहकारी प्रबद्र्धन कोषलाई परिचालन गर्न सकेमा महासंघ बलियो हुने बताइन्।

 त्यसैगरी सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुस्प्रचार फैलाएका कारणले पनि समस्या आएकाले अहिले सडकदेखि सदनसम्म सहकारीको विषय उठेको जानकारी मल्लले गराइन्। सहकारीको पुँजी परिचालन गर्न करिब ४७ वटा ऐन बाधक रहेकाले तीनीहरूको संशोधन गर्नुपर्ने धारणा मल्लको थियो।

पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले तीनवटै तहका सरकारलाई सहकारीको विषयमा संविधानमा उल्लेख भएको विषयलाई समावेश गरेर निर्देशन दिनुपर्ने बताए।

केही नेपाल ऐन संशोधनमा सहकारीलाई नचिन्ने ऐनहरू संशोधन गर्नुपर्ने र सहकारी ऐन २०७४ मा उल्लेख रहेका कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष तत्काल कार्यन्वयन गर्नुपर्ने धारणा बडालले राखे। महासंघका पूर्व अध्यक्ष तथा पूर्व राज्यमन्त्री दिपकप्रकाश बास्कोटाले सहकारीको विषयमा राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंकसहितको छलफल आवश्यक रहेको बताए। महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले सहकारी ऐनका प्रावधान कार्यान्वयन गर्न सकेको खण्डमा सहकारीका चुनौती समाधान हुने धारणा राखे।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षद्वय डिबी बस्नेत, इन्दिरा पन्त, महासंघका संचालकहरू, टेकप्रसाद चौलागाई, काशिरचन्द्र बराल, परितोष पौडेल, प्रेम सुवेदी, सुमन नेपाल, लेखा समिति सदस्य हेमकुमारी अधिकारी, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक सिता ढकाल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाई, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईं, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, कास्कुनका अध्यक्ष दिपक पनेरु, ध्रुव रायमाझी सहभागी थिए। 

प्रकाशित: २९ श्रावण २०८१ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App