६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
अर्थ

अब फोनबाटै किसानलाई मल सम्बन्धी जानकारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको आपूर्ति र वितरणलाई पारदर्शी बनाउन कल सेन्टर स्थापना गरेको छ।

शुक्रबार मन्त्रालयका प्रवक्ता सहसचिव डा हरिबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै मलको आपूर्ति र वितरणबारेमा सर्वसाधारणलाई जानकारी दिन कल सेन्टर स्थापना गरिएको जनाएका छन्।

‘मल आपूर्ति र वितरणको कार्यलाई अझ पारदर्शी बनाउने क्रममा मन्त्रालयले कल सेन्टर मार्फत मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कृषकले पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१७७७७९मा कार्यालय समय भित्र फोन गरी आफ्नो नजिकमा रहेको मल विक्रेता सहकारी वा निजी स्तरका डिलरबारे जानकारी लिन सक्ने विज्ञप्तिमा जनाइएको छ।

टोल फ्री नम्बरमा सम्पर्क गर्दा नजिकको डिलरले प्राप्त गरेको मलको कोटा सम्बन्धी विवरण र डिलरले प्रत्येक दिन विक्री गरेको मलको विवरण समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गरेको यो व्यवस्थाको उपयोग गरी मल आपूर्ति र वितरण व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले सम्पूर्ण कृषकसँग आग्रह गरेको छ।

किसानले सहुलियत दरको मल सहज नपाएको र कालोबजारी भइरहेको गुनासो आएपछि कृषिमन्त्री रामनाथ अधिकारीले त्यसको सहजीकरणका लागि कल सेन्टरको स्थापना गर्न लगाएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८१ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App