४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दरबाङ म्याग्दी जलविद्युत्ले दुई वर्षमा परीक्षण उत्पादन गर्ने

फाइल तस्वीर

पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोजदेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ। विगत पाँच महिना सुस्त गतिमा रहे पनि अहिले दरबाङको छ्यारछ्यारेमाथिको ढाँडखर्कमा अडिट नं. २ को सुरुङ ८८ मिटर खन्ने काम तीव्र गतिमा अगाडि बढेकोमा हेड टनेलसम्म पुग्ने गरी अडिटमा दुई सिफ्टमा काम भइरहेको आयोजनाका जियोलोजिस्ट चित्र विक्रम टन्डनले बताए।

२०७५ सालदेखि पूर्वाधार निर्माण सुरु भएको आयोजनाको विगतमा सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर बेपत्ता भएपछि काम रोकिएको अवस्थामा आयोजनाले नै कामदार खोजेर अडिट नं. २ को काम गरिएकोमा अब सिभिलसहित बाँकी कामलाई तीव्रता दिने धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरको भनाइ छ।

‘अब तालिका अनुसार नै काम अगाडि बढ्छ, हामीले अहिलेसम्म बैंकको कर्जा प्रयोग गरेका छैनौ, ‘संस्थापक लगानीकर्ताहरूकै लगानीबाट अहिलेसम्मको काम गरिएको छ’, अध्यक्ष कुँवरले भने। आगामी दुई वर्षभित्र परीक्षण उत्पादनको लक्ष्य रहेको छ। आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचना तयार रहेकाले अब बाँकी काम सम्पन्न गर्न सहज रहेको अध्यक्ष कुँवरले बताए। उनले आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण जग्गासमेत खरिद गरिसकिएको छ।

मालिका ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।

पाँच अर्ब १५ करोड कुल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ। हालसम्म आयोजनास्थलमा बैंकको कर्जा प्रयोग गरिएको छैन। आयोजनास्थलमा संस्थापक लगानीकर्ताको सेयरले मात्रै काम भइरहेको अवस्थामा सिभिलसहितको काम सुरु भएपछि मात्रै बैंकको कर्जा प्रयोग गरिने छ।

३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको प्रबन्ध निर्देशक हर्कमान मगरले बताए।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट आठ रूपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रूपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भइसकेको छ। 

प्रकाशित: २४ श्रावण २०८१ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App