४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि मन्त्री अधिकारीद्वारा कृषि औजार कारखानाको अवलोकन, आवश्यक सहयोग गर्ने प्रतिवद्धता

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार वीरगन्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरूको अनुगमन एवं अध्ययनका लागि पुगेका उनले यस्तो प्रतिवद्धता जनाएका हुन।उनले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताए ।

अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन सुरु गरेको पाएको बताए। उनले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताए । 

उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरू उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ । हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ । यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ । मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ । मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमुना कृषि औजारहरू बनाउन परीक्षण गरेको बताए । उनले उत्पादन सुरु गर्न आफूहरू तयार रहे पनि विद्युत् प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरमर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताए ।

उनले साना किसानलाई चाहिने र उपयोग हुने औजारहरू उत्पादन गर्ने पनि बताए । उनले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताए। बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गरे। 

उनले भने,‘अहिले हामीले झन्डै २० किसिमका नमुना औजारहरू बनाएका छौँ । सबै परीक्षण भएर सफल भएका छन् । अब के के औजार बनाउने भनेर धेरै पटक नमुना परीक्षण गरेर सफल गरेका छौँ । अबको ६ महिनाभित्र उत्पादन नै सुरु गर्ने तयारीमा छौँ । ट्रान्सफरमर राख्न विद्युत् प्राधिकरणले ढिला गरेको छ । ५ सय केबीको लागि हामीले भनेका थियौँ । हामी वामे सर्दै गरेको अवस्था हो । अझै केही समय लाग्छ । साना किसानलाई चाहिने र उपयोग हुने कुरालाई लक्ष्य गरेर परीक्षण भइरहेको छ। राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको छ । अब २० करोड जति जिम्मा लिन्छौँ ।सरकारको तर्फबाट कसरी थप्ने, कति ल्याउने भन्ने किसिमको नीति निर्देशन दिन सहयोग के गर्ने त्यसमा सहयोग गर्न आग्रह गर्दछु ।’

सोही कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गरेका थिए। 

प्रकाशित: २३ श्रावण २०८१ १५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App