३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ :उपसभामुख राना

सङ्घीय संसदका सदस्यहरूका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

सङ्घीय संसदको आयोजना र राष्ट्रिय बाणिज्य बैंक लगायतको सहकार्यमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि वित्तीय साक्षरता सञ्चालन गरिएको हो ।उक्त अवसरमा बैकिङ्गलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा मात्र नबुझी सबैका लागि वित्तीय साक्षरता बढाउनुपर्ने कुरामा जोड दिइएको थियो।

सानो उमेरदेखि नै बचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्ने, कर्जा लिँदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने , हुन्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरू सबैलाई जानकारी गराउन आवश्यक भएको कुरा उठाइएको थियो । 

उक्त कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले वित्तीय साक्षरतालाई अब उच्च माध्यमिक तहको शिक्षामा जोडेर लैजान आवश्यक भएको धारणा राखिन । उनले वित्तीय साक्षरताको कमिले भ्रष्टाचार नियन्त्रणको काम पनि कठिन भइरहेको बताउँदै वित्तीय कारोबार अनुशासित बनाउँदा त्यसले भ्रष्टाचार र अनियमिततालाई बढवा दिनबाट रोक्ने धारणा राखिन । उनले आर्थिक अनुशासन कायम गर्न कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता भएको पनि बताइन । 

प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले बैङ्कहरूले नाफा मात्रै कमाउने नभई वित्तीय साक्षरता बढाउने दायित्व पनि बहन गर्नुपर्ने धारणा राखे । 

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले  आन्तरिक ऋण बढी उठाउँदा ब्याजदर बढ्ने र त्यसले मूल्यवृद्धि बढाउने भन्दै चिन्ता व्यक्त गरिन । उनले सेयर बजारलाई नेपाल राष्ट्र बैकले  दुस्मनको व्यवहार नगरी मौद्रिक नीति खुकुलो बनाउन सुझाव दिइन।  

सांसद प्रेम सुवालले बसाइसराईलाई व्यवस्थित बनाउन नसक्दा विकराल रुप आउन थालेको भन्दै जिल्ला भित्र मात्रै बसाई सराई गर्न पाउने व्यवस्था गर्न आवश्यक छ भने । उनले बैङ्कहरूलाई जग्गा र सुनमा भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे । 

सो अवसरमा वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्दाहरुका बिषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, व्यक्तिगत वित्त पोषण र बजेटिङका बिषयमा नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल र बैङ्किङ र वित्तका बारेमा राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले प्रकाश पारेका थिए ।  

प्रकाशित: २६ असार २०८१ १९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App