२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा भित्रिने वैकल्पिक सडकः कालिकास्थान–पुँडीटार–लामेआहाल निर्माण हुँदै

पोखरा भित्रिने वैकल्पिक सडकको रुपमा कालिकास्थान–पुँडीटार–लामेआहाल सडक खण्ड निर्माण हुने भएको छ।  दोविल्ला–बागमारा–तिक्लाङ्–बडहरकोट–लामगादी–चापलाङ–उपल्लो पँुडिटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौंडा सडक अन्तर्गत पर्ने उक्त सडक खण्ड निर्माण गर्न थालिएको हो। सडकको हालै शिलान्यास गरिएको छ।  

विरौटा–बागमारा–कोत्रे सडक जोड्ने सो सडक खण्ड अन्तर्गत विरौटा–दोविल्ला–बागमारा सडक खण्ड यसअघि नै बनिसकेको छ। उक्त सडक खण्डको बाँकी कालिकास्थान–पुँडीटार–लामेआहाल सडक खण्ड निर्माण गर्न लागिएको हो। तर उक्त सडकको लामेआहाल–कोत्रे सडक ब्रेक थ्रु नहुँदा वैकल्पिक मार्गले पूर्णता भने नपाउने भएको छ। सो सडक खण्ड अन्तर्गत लामेआहाल–कोत्रे जोड्न करीब २ किलोमिटर निर्माणको टुंगो लागेको छैन। 

शिलान्यास गरिएको कालिकास्थान–पुँडीटार–लामेआहाल सडक आशिष निर्माण सेवा प्रालिले निर्माण गर्नेगरी सम्झौता भएको पोखरा महानगरपालिकाले जनाएको छ। विश्व बैंकको सहयोगमा १२.४४ किलोमिटरको सो सडक ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्ने गरी ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँमा सम्झौता भएको महानगरले बताएको छ। सडक दुईवटा खण्डमा विभाजन गरेर निर्माण हुनेछ। सडकको पहिलो खण्डमा कालिकास्थानबाट उपल्लो पुँडीटारसम्म ९.६२७ किमी र दोस्रो खण्डमा पुँडीटारदेखि तल्लो गगनगौंडा (पृथ्वीराज मार्ग)सम्म २.८१३ कि.मी सडक निर्माण हुनेछ। 

सडक ७ मिटर चौडाइको हुनेछ भने सबै अस्फाल्ट पीच हुने महानगरका मेयर धनराज आचार्यले बताए। सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुट ट्रयाकसमेत बनाइने महानगरले बताएको छ। सडक शिलान्यास गर्दै आचार्यले बाटो निर्माणमा अवरोध सिर्जना हुन नदिने प्रतिबद्धता जनाए।  

यो सडक पोखरा भित्रिने अर्को लाईफलाईन भएको बताउँदै उनले भने, ‘स्थानीय उपभोक्ताका लागि त यो बाटो हो नै, यो बाटो पोखरा जोड्ने अर्को लाइफलाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनैपनि प्रकारका स्थानीय अवरोधहरू आउन दिदैनौं । आएपनि तत्काल समाधान गर्नेछौं।’ उनका अनुसार ३ अर्ब लागतमा निर्माण गर्न थालिएको तालचोक–बेगनास सडकको लगानीबाट बचेको रकमलाई पोखरामै लगानी गर्न गरिएको आग्रहलाई विश्व बैंकले स्वीकारेर यस खण्डमा लगानी गरेको हो।  

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडक निर्माण गर्दा गुणस्तरमापनि ध्यान दिइने बताए। विश्व बैंकका टास्क टिम लिडर आवेवाओले छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन निर्माण कम्पनीलाई आग्रह गरे। 

प्रकाशित: २६ असार २०८१ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App