२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगर महानगरको बजेट साढे ३ अर्ब

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार महानगरको  १४ औँ नगर सभामा उपमेयर शिल्पा निराला कार्कीले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरिन्। 

बजेटले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिक लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ।

समपूरक कार्यक्रममा ६ करोड, वडा स्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई न्यूनतम दुई करोडका दरले बजेट दिएको  । महानगरले सार्वजनिक गरेको बजेटमा सबैभन्दा बढी वडा नम्बर ४ ले पाएको छ । ४ नम्बर वडाले २ करोड ६४ लाख ३ हजार रुपैयाँ पाउँदा सबैभन्दा कम वडा नम्बर १३, १५, १६ र १७ ले २ करोड १३ लाख ५ हजार पाएका छन् । हरेक वडालाई समान २ करोड वितरण गरेर थप १० करोड भौगोलिक अवस्था, जनसंख्या, विकासलगायतलाई मापदण्ड बनाएर सूत्रका आधारमा वितरण गरिएको उपमेयर कार्कीले जानकारी दिइन। 

आगामी वर्षको खर्चतर्फ बहु वर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरिएको छ । महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको  । सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगर स्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको उपमेयर कार्कीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ।

कृषि विकासका लागि १ करोड ३ लाख, पशुपक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवद्र्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ।

महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ। यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो। सो खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ।

महानगरले युवा विकास कार्यक्रम, रोजगार प्रवर्द्धन कार्यक्रम, आर्थिक अपाङ्गता क्षमता विकास कार्यक्रम, कृषि विकास, पशुपक्षी तथा भेटेनरी, सहकारी, उद्यमशीलता विकास, उपभोक्ता हित संरक्षणलगायतका कार्यक्रम पनि बजेटमा समेटेको छ। 

रानी र बैजनाथपुर अस्पतालमा २४ घण्टे बर्थिङ सेन्टर, स्वास्थ्य बिमा, यूएसजी सेवा, बिमा फार्मेसी, एक्सरे सेवा, प्रयोगशाला तथा फिजियोथेरापी सेवाको स्थापना र सुदृढीकरण गर्दै लग्ने नीति तथा कार्यक्रममा उल्लेख छ। अटिजम भएका बालबालिकाहरूका लागि छुट्टै अटिजम सेवा केन्द्र सञ्चालन गर्ने, रानी र बैजनाथपुर अस्पतालमा प्राथमिक जलन उपचार केन्द्र स्थापना गर्ने,सबै सामुदायिक विद्यालयमा फिल्टर प्लान्टसहितको शुद्ध खानेपानीको व्यवस्था गर्ने बजेटमा उल्लेख छ।

‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम’ मार्फत महानगर बहु प्राविधिक शिक्षालयमा अध्यापन हुने डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा महानगरभित्रका २५ जना लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति महानगरपालिकाले लिएको छ।

बजेटमा करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने , कर छली गर्ने करदाताहरूलाई दण्ड जरिवाना गरिनेछ भने कर तिर्न अटेर गर्ने करदाताको घरजग्गा तथा बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा पठाइने, पुराना संरचनाहरूको स्थलगत नाप जाँच गरी सम्पत्तिको पुनः मूल्याङ्कन गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ। प्रदेशस्तरीय न्यायिक समितिको भेला गरी सिकाई तथा अनुभव आदानप्रदान गर्ने तथा सरोकारवाला मन्त्रालयसँग समन्वय तथा सहकार्य गर्ने उल्लेख छ।

 स्वचालित सेवामार्फत महानगर मातहतका महाशाखा, शाखा वडा कार्यालयहरूको समग्र कार्य प्रणालीलाई प्रविधिमैत्री बनाइने, प्लाष्टिक झोला प्रतिबन्ध कार्य योजना २०७८ लाई कार्यान्वयन गरिने, व्यवसाय दर्ता तथा नवीकरण गर्दा सफाइ कार्ड अनिवार्य गर्नेलगायत कार्यक्रममा समेटिएको छ।नगर सभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबैको सामूहिक प्रयासले मात्रै विराटनगरको विकास गर्न सकिने बताए ।

उनले बितेको दुई वर्षमा भौतिकसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको दाबी गरे। उनले अहिले पनि १ अर्ब १५ करोडभन्दा बढीका ठुला साना परियोजना सञ्चालनमा रहेको जानकारी दिए। बहु वर्षीय योजनाअन्तर्गत विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्व प्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरती स्थल, बाल उद्यान, महानगरको बहु प्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठुला परियोजनाहरू धमाधम निर्माण भइरहेको कोइरालाले बताए । करिब २२ करोडको लागतमा जीर्णोद्धार गरिएको वीरेन्द्र सभा गृह हस्तान्तरणको चरणमा पुगेको, हाल १ अर्ब १५ करोड रुपैयाँ बढीका साना ठुला परियोजना सञ्चालनमा रहेको  कोइरालाले जानकारी दिए । 

आफ्नो कार्यकालको  दुई वर्षमा २० किलोमिटर कालोपत्रे गरिएको र  ४२ किलोमिटर सडकमा ग्राभेल गरिएको बताए।चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको थियो । 

प्रकाशित: १० असार २०८१ १९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App