२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

विश्व बैंकको आइडीए–२१ बैठक नेपालमा गर्न पाउनु ठूलो अवसर: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन्। चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन्।

बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गरेका थिए। मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित  विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए।

दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धीमुलक भएको उल्लेख गरे। बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए।

‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरुका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौँ भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु’, उनले भने, ‘तपाईंहरुले अविकसित मुलुकहरुका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ।’

बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरु विकास सझेदारहरुबाट विकास वित्त  प्राप्त गर्दै आएका आईडीए मुलुकहरु र ऋण दाता मुलुकहरुका लागि खुसीको विषय भएको मन्त्री पुनले  बताए। आईडीए मुलुकहरुलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक  बनाउन बैठकले निकालेका निस्कर्ष प्रभावकारी हुने विश्वास उनको थियो।

उनले धेरै आईडीए मुलुकहरुले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याए। उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए। 

प्रकाशित: ७ असार २०८१ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App