१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा

आइतबारदेखि सुरु हुने मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने

सुदूरपश्चिम प्रदेशको कैलालीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको आयोजनामा आइतबारदेखि कैलालीको धनगढी स्थित ओम प्यालेसमा मेला सुरु हुँदैछ।

मेलाको विषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव वसन्त बोहोराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बिच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए। 'मेलाले रोजगारीका अवसरहरू सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,' उनले भने।

त्यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए। रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए। 'वर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ। तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,' उनले भने।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताए। 'विभिन्न कम्पनी, उद्योगबाट रोजगारी दिनका लागि माग भएको छ। हामीले त्यही अनुसार रोजगारी दिनका लागि व्यवस्था गरेका छौँ। उनीहरु सबै कम्पनीहरूका स्टलहरू पनि रहनेछन्,' उनले भने। यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुने उनले बताए।

श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पुरा भएको बताए। हालसम्म मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरू रहने छन्। ३५ स्टलहरू बुक भैसकेको र थप स्टलहरू बुक हुने क्रममा रहेको उनले बताए।

मेला बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासङ्घ छन्।

मेलामा विभिन्न कार्यशालाहरू सञ्चालन हुनेछन्। सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशालाहरू सञ्चालन हुनेछन्।

१७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन भई रहेको छ। सुदूरपश्चिम प्रदेशमा २७ र २८ गते सञ्चालन हुनेछ।

मेलामा सुरक्षा निकायहरू, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैकर्स एसोसिएसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरू, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे«किगं एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल माउन्टेरिगं एसोसिएसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्युनिकेसन र एभरेष्ट नेटको पनि सहभागिता हुनेछ।

प्रकाशित: २५ जेष्ठ २०८१ १९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App