सरकारले आगामी आर्थिक वर्षदेखि कच्चा पदार्थ गहुँको आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको भन्दै नेपाल मैदा उद्योग संघले आपत्ति जनाएको छ ।
गहुँमा लगाएको आयकरले आँटा, सुजी, चक्की आँटा, चोकरलगायत खाद्य बस्तु उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने र यसबाट उपभोक्ता मर्कामा पर्ने संघको भनाइ छ । भारतबाट आयात हुने गहुँ र तयारी मैदा दुबैको भन्सार महसु्ल र अग्रीम आयकरको मूल्याङ्कन गर्दा कच्चा पदार्थभन्दा तयारी बस्तुको आयात सस्तो हुने बताउँदै संघले स्वदेशी उद्योगहरुमा यसको प्रत्यक्ष असर पर्ने औल्याएको हो । सरकारको यो कदमले स्वदेशी मैदा उद्योग धराशायी हुने निश्चित भएको उल्लेख गर्दै संघले उद्योग संरक्षण गरिदिन सरकारसँग आग्रह गरेको छ ।
उसले भनेको छ, 'स्वदेशी मैदा उद्योगले गहुंमा लागेको २.५ प्रतिशत अग्रिम आएकर थेग्न नसक्ने हुँदा उद्योग बन्द हुने निश्चित छ । देशमा आत्मनिर्भर भैसकेको स्वदेशी मैदा उद्योगको कच्चा पदार्थ गहुंमा लागेको अग्रिम आयकर खारेजि गरी मैदा उद्योग संरक्षण गरी दिनु हुन संघको अनुरोध छ ।'
संघले स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
प्रकाशित: २३ जेष्ठ २०८१ १७:२७ बुधबार