३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा जाने युवा बढेको बढ्यै

साउनदेखि वैशाखसम्म बिदेसिए ६ लाख बढी, धेरैको रोजाइ बन्यो ‘युएई’

गत आर्थिक वर्ष २०७९-८० मा रोजगारीमा लागि विभिन्न देश जाने युवाको संख्या सात लाख ७१ हजारभन्दा बढी थियो। गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी सात लाख ७१ हजार ३२७ युवा श्रम स्वीकृति लिएर विदेश गएका थिए।

यसपालि भने चालु आर्थिक वर्ष २०८०-८१ नसकिँदै अर्थात् गत साउनदेखि वैशाखसम्म ६ लाख नौ हजार ७०५ जना नेपाली युवा वैदेशिक रोजगारका निमित्त विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

उक्त तथ्यांक नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको एकमुष्ट संख्या हो। गत वर्षजस्तै चालु आर्थिक वर्षमा पनि रोजगारी खोज्दै विदेश जाने युवाको संख्या ७ लाखभन्दा माथि पुग्ने अवस्था देखिएको छ। यसरी विदेश जाने नेपाली युवाको लर्को धेरै बढ्दो छ।

नेपालीले रोजगारका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो नम्बर युएई हो। गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको दसौं महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिटेन्स वृद्धि हुने देखिन्छ।

चालु आवको १० महिनाको अन्त्यमा वैदेशिक रोजगारीमा जाने सबैभन्दा अग्रस्थानमा युएई रहेको छ। साउनदेखि वैशाखसम्म १ लाख ५४ हजार ८१५ जना नेपाली युवा युएई पुगेको विभागको तथ्यांकले देखाएको छ। अहिले युएई, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन्।

युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देशमा पनि जान थालेका छन्। यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि बिदेसिनै पर्ने आम नियति नफेरिने संकेत गरिरहेको छ।

विकासका चरणमा रहेको खाडी मुलुकले नेपाली अदक्ष र सस्तो जनशक्तिको लाभ उठाइरहँदा नेपालका लागि यो दुई वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै युवा श्रमशक्ति निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर सबैभन्दा बढी नेपाली युवा युएई गएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए।

यी तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरू जानेहरूको संख्या सामेल नभएको उनले जानकार गराए।

विभागका प्रवक्ता सुवेदीका अनुसार देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुँदा ठुलो संख्यामा युवाहरू बिदेसिएका छन्। महामारीका कारण देशमै केही गर्छु भनेर बसेका युवाहरू पनि जुन देशको भिसा आउँछ त्यही देश जाने हो भनेर बिदेसिएको सुवेदीले जानकारी गराए।

‘अहिले महिला पुरुषकै आकर्षणको देश भएको छ युएई,’ उनले भने, ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण उतै फर्किरहेका छन्। थोरैका लागि मात्रै वैदेशिक रोजगारी रहर हुन सक्छ। तर धेरै नेपाली युवाका लागि त यो बाध्यता भएको छ।’

वैदेशिक रोजगारीमा युएईमा कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षा गार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेको विभागका प्रवक्ता सुवेदी बताउँछन्। ‘जहाँबाट जति धेरै कामदारको माग आउँछ, त्यही नै धेरै जाने हुन्। तर नेपाली कामदारहरू जाने गरेका अधिकांश कम तलब एवं सुविधा हुने खालका काममा विदेश गएका छन,’ उनले भने।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४-६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका थिए। तर यो तथ्यांक गत वर्ष २०७९-८० र चालु आर्थिक वर्ष यो संख्या बढेर अकासिएको छ।

विदेशमा घरेलु कामदार पठाउन लागेको रोक नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्। सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन्।

‘देशभित्र बसेर दैनिक जीवनयापन गर्नसमेत नसकिने भएपछि यहाँ बसेर केही हुन्न भन्ने धेरै युवा बिदेसिएका छन्। त्यसले नै वैदेशिक रोजगारीमा जाने युवाको संख्याले नयाँ कीर्तिमान बनाइरहेको छ,’ सुवेदीले भने। देशभित्र रोजगारी नै नपाउने, पाए पनि नियमित तलब र काम नपाउने अवस्थाले बिदेसिएको थुप्रै युवाको एउटै गुनासो रहेको हुन्छ।

‘देशमा सत्ताको लडाइँ छ, अर्थतन्त्र मन्दीमा छ, काम गरिखाने पनि चरम निराशा छ। देशको माया मात्रै लागेर हँुदैन। परिवार पाल्नै गाह्रो। त्यस्तो बेलामा कसरी देशमै काम गर्छु भनेर बस्ने र ?’ वैदेशिक रोजगारीमा ६ महिना अघि साउदी अरेबिया पुगेका सुवास सिलवालले भने।

तर सरकारको कमजोर नीतिका कारण देशमा अवसरको सदुपयोग गर्नुभन्दा वैदेशिक रोजगारीमा जाने संख्याको नयाँ नयाँ रेकर्ड बनाउनेतर्फ मात्रै अग्रसर छ।

प्रकाशित: १४ जेष्ठ २०८१ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App