नेपाली युवा रोजगारी अवसर खोज्दै बिदेसिएपछि भारतीय श्रमिकले नेपाली बजारमा ठाउँ लिइरहेका छन् ।
नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।
भारत राजस्थानका २५ वर्षिय फारुख अली ८ वर्षदेखि न्यूरोडको नक्कली गरगहना पसलका कामदार बनेर रमाइरहेका छन् । चिसो हावापानी, मिलनसार स्थानीय बासिन्दा र कामको उपलब्धताले उनलाई रमाइलो अनुभूति भइरहेको छ ।
नेपालको कमाइले घरखर्च मात्र चलेको छैन आफ्नो जीविका पनि राम्रै भइरहेको छ । नेपाली युवा एक ठाउँमा टिक्न नसक्ने अनुभव उनको छ । ‘न्यूरोडमा काम गर्ने धेरै नेपाली साथी थिए,’ फारुखले नागरिकसँग भने, ‘उनीहरू एउटै कामलाई कहिल्यै ध्यान दिएनन् । धेरैको दश ठाउँ काममा चार्ने उनीहरूको प्रवृत्ति थियो । उनीहरू कहिल्यै काममा सन्तुष्ट नहुने । विभिन्न ठाउँमा काम गर्दै हिड्दा पनि असन्तुष्टिले मानसिक समस्यामा परेको पनि मैले धेरै देखेको छु ।’
फारुखको अनुभवमा धेरैजना मानसिक समस्या भई नेपालमा केही छैन भन्दै विदेसिन पुगेका छन् । ‘मेरो बिचारमा नेपाली युवामा धैर्यता, अनुशासन र सहनशीलता छैन,’ उनले भने, ‘कसैले केही भन्यो भने सहन सक्ने क्षमता छैन् । आफूलाई काम चाहिएपछि झुक्नुपर्छ । हरेक दिनको कामले ज्ञान बढाउँदै लगेको हुन्छ । एक न एकदिन अवश्य सफल भइँन्छ ।’
आफ्नै देशमा पाइने कामप्रति सम्मान नहुँदा पनि विदेसिनुलाई विकल्पका रुपमा लिएको देखिन्छ । विदेशमा पनि आफूले भनेको जस्तो काम नपाउँदा झन ठूलो गुनासोमा अल्झिनु पर्ने हुन्छ ।
‘आफ्नै घरमा त भनेको जस्तो व्यवहार, काम र खाना हुँदैन,’ फारुखले भने, ‘विदेशमा नितिनियम, परिवर्तित भाषा, चालचलन, अलग कार्यस्थल र काम सहज हुँदेन । पहिला नै गाहे भारी बोकेको भए पो पछि सजिलो भारी बोक्न सकिन्छ । आफ्नै देशको भारी बोक्न गाहे भयो भन्ने मानिसलाई अर्काको भारी बोक्न कहिल्यै सजिलो हुँदैन ।’
फारुखको अनुभवमा नेपाली युवालाई २०-२५ हजार रुपैयाँमा आँखै लाग्दैन । एकैचोटी दुईअढाइ लाख रुपैयाँ कमाउने चाहना हुन्छ । ‘मोटो पैसा चाहिने, तर काम भने सजिलो हुनुपर्ने सोच रहेको छ,’ उनले भने, ‘ठुलो पैसाको सपना देख्ने मानिसले शुन्यबाट काम गर्दा एकदिन अवश्य सपना पुरा हुन्छ । आफ्नो काममा बफवादारी, अनुशासन र मर्यादित व्इवहार हुनुपर्छ ।’
फारुखको अनुभवमा विदेशमा पनि त्यत्रो ठूलो कमाइ हुँदैन । नेपालमै कमाएको पैसा पनि बचाउन सकिन्छ । यसैकारण भारतीय एक सय रुपैयाँ कमाउन नेपालमा एक सय ६० रुपैयाँ चाहिने भए पनि यहाँ सहज ठान्छन् उनीहरू ।
‘हाम्रो लागि विदेशनै हो नेपाल,’ फारुखले भने, ‘भारत भन्दा आनन्द छ र हरेक चिजमा सुविधा पनि छ । घरपरिवारमा केही भएको खण्डमा एकै रातमा आफ्नो देश पुगिन्छ । कमाउनका लागि नेपाल धेरै ठिक छ ।’
वैदेशिक रोजगार विभागका अनुसार यो आर्थिक वर्ष प्रत्येक महिना करिब ७० हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ार्थिक वर्ष २०७९-८० मा ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
नेपाली युवाले विदेशमा रोजगारी खोजिरहेका बेला भारतीय मात्र होइन चिनियाँले समेत यहाँको श्रम बजारमा उपस्थिति जनाइरहेका छन् ।
भारत विहार बैरगनियाका मुनिलाल ठाकुर काठमाडौंस्थित भोटेवहालमा खोलेको सैलुनमा राम्रो कमाइका साथ रमिरहेका छन् । मुनिलालको हातमा जादु रहेको भन्दैँ पुराना ग्राहकसँगै नयाँ पनि थपिइरहेका छन् ।
४८ वर्षिय मुनिलालले ३० वर्षदेखि नेपाली श्रमबजारमा आफ्नो पेसालाई फराकिलो पारिरहेका छन् । नेपालमै काम गरेर पाँच छोराछोरीलाई हुर्काएर यो महँगीमा पनि उच्च शिक्षा दिन सक्षम भएका छन् ।
‘एकजोर कपडा र चप्पलको भरमा नेपाल आएर चार छोरी र एक छोराको विहेदान गरिदिए’, मुनिलालले नागरिकसँग भने, ‘त्यही हो, मेरो सम्पती । धेरै गाहे हो छोरोछारीलाई हुर्काउँन, बढाउँन, पढाउँन र विवाहबारी गर्न । त्यो नेपालमै चुहाएको पसिनाबाट सम्भव भएको हो ।’
नेपालमा काम गरेको धेरै समय भएका कारण मुनिलाललाई भारत भन्दा यहाँको हावापानी, साथीभाइ, पसलमा आउँने ग्राहकसँग बढ्ता लगाव छ । बरु अहिलेको आर्थिक मन्दिले आम्दानी कम गरेको छ ।
‘फुटपाटमा राखेका सामान, गाडामा तरकारी बेच्न हिड्ने मानिस र कवाडी सामान लिन आउँनेलाई काठमाडौं महानगरपालिकाले रोक लगाएसँगै हाम्रो पनि व्यापार घटेको छ,’ मुनिलालले भने, ‘यहाँ अहिले मान्छेनै छैनन् । जताततै सुनसान छ । जसले गर्दा व्यापार घटेको छ ।’
नेपाली विदेश गइरहेका भए पनि मुनिलालको अनुभवमा महिनामा ४०-५० हजार रुपैयाँ कमाउन अन्यत्र जानु पर्दैन । ‘हामी पनि विदेशनै आएका हौँ,’ उनले भने, ‘तर, हामीलाई यो विदेश जस्तो लाग्दैन । यहाँ बस्दाबस्दा आफ्नै देशजस्तो लाग्छ । अन्य देशमा गएर कमाउँन गाहे छ । तर, नेपालमा आरामले कमाइ गर्न सकिन्छ ।’
काठमाडौंबाट अचेल ललितपुर लेलेको बाटोबाट रौतहट हुँदै करिब चार घण्टामा आफ्नो घर भारत पुग्छन् मुनिलाल । विदेसिने तरखरमा रहेका नेपाली युवालाई उनको सन्देश छ, ‘यहाँ गर्न सके हरेक क्षेत्रमा काम छ । त्यतिकै धनी भइन्न । धेरै प्रयासपछि मानिस धनी हुन्छन् । कामै नगर्ने । गर्यो भने पनि अधुरो छोड्ने गरेर हुँदैन । जुनसुकै कामलाई ध्यानपूर्वक लाग्नु पर्छ । अनि नामसँगै दाम कमाइन्छ ।’
भारतीय नागरिक फारुख, मुनिलाल जस्तै विहारका दिपेन्द्र मिश्र पनि नेपाली श्रमबजारमा रमेका छन् । भोटेबालमा ३० वर्षअघिदेखि बिजुलीका सामान बेच्दै आएका छन् । ‘यही पेसाबाट सम्पूर्ण परिवार धानेकै हो,’ उनले भने, ‘अन्त कुनै आयश्रोत छैन् । दुईतिन वर्ष अघि राम्रो व्यापार थियो । त्यो भन्दा अझैँ राम्रो व्यापार भूकम्प अघि थियो । अहिले व्यापार खासै छैन् । तर, पनि जेनतेन चलाइरहेका छौँ । हिम्मत भने हारेका छैनौँ । आत्मविश्वास बलियो छ ।’
उनका अनुसार आफू पछाडिएको पुस्ता निकै कमजोर छ । अहिलेको पुस्तालाई जोस्, जागंर र आटनै नआउँने भारतिय नागरिक दिपेन्द्र बताउँछन् । ‘व्यवहारिकतामा नपरेर होला मेहनत गर्नुपर्छ भन्ने भावनानै छैन,’ उनले भने, ‘दुखपछि सुख पक्कै आउँछ भन्ने ज्ञानै छैन । उनीहरूको पाठशालामा पनि व्यवहारिकता शिक्षा छैन् । भान्छामा पकाएर राख्दिएको खाना पस्किएर खान पनि गाहे मान्ने पुस्ता रहेका छन् । आफ्नै घर सरसफाइ गर्न मान्दैनन्, तर विदेशमा त्यही काम गर्न रुचाउँछन् । खै कस्तो आयो नयाँ पुस्ता पनि ।’
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपेले नेपाली श्रमिकहरू विदेश पलायन भएका छन् भने भारतिय श्रमिक यहाँ रमिरहेको अवस्था छ । उनका अनुसार नेपालमा भारतीय बाहेक अन्य मुलुकका कुनै पनि नागरिकले श्रम स्वीकृतिविना काम गर्न पाउँदैनन् । भारतीय नागरिकको हकमा भने न कुनै श्रम सम्झौता हुन्छ, न कुनै कागजपत्र ।
नेपालमा करिब ६ लाख भन्दा बढी भारतीय श्रमिक विभिन्न क्षेत्रमा कार्यरत रहेको अनुमान छ । ‘अहिलेसम्म भारतीयलाई श्रम स्वीकृति दिन सकिने अवस्था छैन,’ प्रवक्ता गोपेले भने । चिकित्सक, इन्जिनियर, बैंकका सीइओ, होटलका सीइओका रुपमा काम गर्ने भारतीयले भने श्रम स्वीकृति लिने गरेका छन् । नेपालीले पनि भारतमा गएर सजिलै काम गर्ने गरेका छन् ।
श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नगारिकले श्रम इजाजत नलिई नेपालमा काम गर्न नपाउने व्यवस्था छ । ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिइ रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रूपमा काममा लगाउन पाउँदैनन् ।
उनका अनुसार हाल विभिन्न कलकारखाना र उद्योग धन्दाहरूमा कम पारिश्रमिकमा पनि धेरै भारतीय नागरिक काम गरिरहेका छन् । नेपाली बजारमा आवश्यकता अनुसारको जनशक्तिको अभाव छ । निर्माणलगायतका क्षेत्रमा जनशक्तिको माग धेरै छन् । यी क्षेत्रमा नेपालीले काम नगर्ने वा गरिहाले पनि भनेजस्तो नहुने हुँदा भारतीय नागरिकले ठाउँ लिएका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा २ हजार ९ सय ९४ चिनियाँ नागरिकले अनुमति लिएका थिए । यो आर्थिक वर्ष वैशाख ३१ सम्म १ हजार ३ सय ६५ चिनियाँले नै श्रम अनुमति लिएका छन् । तर, भारतीय श्रमिकको यहाँ कुनै तथ्यांक छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना अर्थात् साउनदेखि चैतसम्म नेपालबाट ५ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ रेमिटान्स औपचारिक च्यानलबाट विदेश गएको छ । त्यसको ठूलो हिस्सा भारत रहेको छ । भारतमा जाने रेमिटान्सको ठूलो हिस्सा बैंकिङ च्यानलमार्फत् नभई अनौपचारिक रहेकाले त्यसको आकार कैयन गुणा ठूलो रहेको विज्ञहरू बताउँछन् ।
प्रकाशित: ३ जेष्ठ २०८१ १७:१६ बिहीबार