२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?

टिप्पणाी

मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसै कारण दक्ष,अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ। देशमा रोजगारीको अवसर नदेखेपछि करिब २५ सयभन्दा बढी युवा दैनिक वैदेशिक रोजगारीमा जान्छन्।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाको तथ्यांक राख्ने गरे पनि फर्केकाको कुनै विवरण छैन। विभागको तथ्यांकमा वैदेशिक रोजगारीमा गएका, फिर्ता भएका र विदेशमै रहेका, अलपत्र र बिरामी परेकाको विवरण समेत छैन।

विनाराहदानी नागरिकताको सहायताले छिमेकी मुलुक भारत गई काम गरिरहेका नेपालीको विवरण पनि सरकारसँग छैन। भारतमा मात्रै १० लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ।

रोजगारीका निम्ति विदेशमा रहेका नेपालीको संख्या बढिरहेको छ। विदेशमा देशभित्रै भन्दा कम कमाइ हुने भए पनि धेरैको आकर्षण भिन्न छ। देशमा ५० हजार रूपैयाँ कमाइ गरिरहेको व्यक्ति विदेशमा ४० हजार मात्र कमाइ भए पनि जाने गरेको देखिन्छ। थोरै रकम पाए पनि विदेशमा कमाएको पैसा बढी बचाउन सकिन्छ भन्ने भावनाले काम गरेको छ।

नेपालमा काम गरिरहेका मानिसलाई इष्टमित्र, छिमेकी वा साथीभाइ कसैले पत्याउँदैनन्। विदेशमा पैसा कमै भए पनि सबैले पत्याउँछन्। विदेश गएको व्यक्तिले ऋण तिरिहाल्छ भनेर पनि पत्याउने गरिन्छ। सामान्य अवस्थामा देशमै कृषि, व्यापार व्यवसायमा संलग्न भएर काम गरिरहेका मानिसलाई ऋण समेत पत्याउँदैनन्।

देशभित्र हुँदा दैनिक व्यवहार, जन्तीदेखि मलामीसम्म जाँदा समय खेर जान्छ। विदेशमा गएपछि एकोहोरो काम गर्न सकिन्छ भन्ने धारणा पनि केहीको देखिन्छ। देशमा भनेजस्तो रोजगारीको अवसर र श्रम सुरक्षा नहुँदा विदेश निर्विकल्प हुने गरेको धेरैले बताउने गरेका छन्। यसैकारण घरपरिवार छाडेर विदेश जान युवा तत्पर हुन्छन्।

सरकारले समयसमयमा श्रम गन्तव्य बन्द र खुला गर्ने गरेको छ। सरकारले इजाजतपत्र प्राप्त संस्थामार्फत १११ र व्यक्तिगत श्रम स्वीकृतिमार्फत जान १७८ वटा मुलुकमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ।

विप्रेषणमा अत्यधिक निर्भर रहेका मुलुकमध्ये नेपाल पनि एक हो। वैदेशिक रोजगारबाट अर्बौं अर्ब रेमिट्यान्स देशले भित्र्याउने गरेको छ। यसै कारण अर्थतन्त्रका बाह्य सूचकमा सुधार आएको देखिन्छ।

वैदेशिक रोजगारको पक्ष सुन्दर मात्र छैन, त्यसमा पीडा पनि छ। प्रत्येक वर्ष धेरैले विदेशी भूमिमा अन्तिम सास फेर्छन्। कतिपयका परिवारले सास मात्र होइन, लास पनि देख्न पाउँदैनन्। विदेशमा घर मालिकले कुटेर कामबाट निकालिदिएको, परिचयपत्र नबनेको, भिजिट भिसामा झुक्याएर कसैले लगेको र अलपत्र पारेको, भिजिट भिसामा लैजाने र त्यहाँ लगेर घरेलु कामदारका रूपमा काम गर्नु परेको अवस्था पनि छ।

त्यस्तै सम्झौताविपरीत काम गर्न बाध्य पारिएको, असाध्यै खतरापूर्ण काम भएको, शरीर बेच्नसमेत बाध्य हुनुपरेका डरलाग्दा अवस्था पनि तिनले भोगेका छन्।

विदेशमा जानुपूर्व सिक्नुपर्ने ज्ञान, सीप र कला आदिको अभाव हुन्छ। भाषा, दक्षता र सीपको कमी हुँदाहुँदै पनि विदेश जाँदा समस्या आउँछ। कतिपय त्यहाँका नियमकानुन नबुझेर पनि समस्यामा पर्छन्।

नेपालमा रहेका सरकारी निकाय र मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पर्याप्त जानकारी नदिने गरेको, एकभन्दा बढी सम्झौता पत्रमा हस्ताक्षर गराउने विभिन्न कारणले गर्दा यस्ता समस्या आइपरेका हुन्।

इमानदार, विश्वासी, लगनशील, सहनशीलता नेपाली प्रकृति बुझेको विश्व श्रम बजारले नेपाली युवालाई आकर्षण गरिरहेको छ। तर, तिनलाई सहजीकरण गर्ने संरचना निकै कमजोर रहेका छन्।

प्रकाशित: ३० चैत्र २०८० ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App