२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सहमतिपछि सौर्य सिमेन्टको चुनढुङ्गा खानी सुचारु

कटारी-८ स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी।

स्थानीयवासी र उद्योग प्रशासनबिचको सहमतिपछि झण्डै तीन सातायता अवरुद्ध सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानी सुचारु भएको छ।

स्थानीयवासीको अवरोधका कारण चैत दोस्रो सातादेखि बन्द उदयपुरको कटारी नगरपालिका-८ गाल्टारस्थित खानी मङ्गलबारदेखि सुचारु भएको हो।

उद्योगले प्रतिबद्धता बमोजिमका सर्तहरू पुरा नगरेको भन्दै स्थानीयले खानी उत्खनन र ढुवानी गर्ने टिफरहरु चल्न अवरोध गरेका थिए। अवरोधका कारण उत्खनन र ढुवानी कार्य दुवै बन्द थियो।

बन्द खानी सुचारु गर्न कटारी नगरपालिकाले स्थानीय आन्दोलनकारी पक्ष, राजनीतिक दल, उद्योग प्रशासन र प्रहरीसमेतको सहभागितामा पटकपटक छलफल राखे पनि सहमति हुन सकेकाे थिएन्।

खानी बन्द हुँदा राजश्व सङ्कलनमा घाटा हुनुका साथै मजदुरहरु भोकै बस्नुपर्ने तथा उद्योगलाई पनि नोक्सान हुने भएपछि सर्वपक्षीय भेलाबाट ४ बुँदे सहमति गरी सुचारु गरिएको हो।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दीर्घकालीन समाधान खोज्न कार्यदल गठन गरेर समाधानको उपाय खोज्नेलगायत ४ बुँदे सहमति गरी खानी सुचारु गरिएको बताए। मेयर श्रेष्ठका अनुसार आन्दोलनकारीको माग बमोजिम प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र मुख्य राजनीतिक दलका प्रतिनिधिसहितको बैठकले निकास निकालेको हो।

आन्दोलनकारीले सिडिओ, एसपी र मुख्य दलका प्रतिनिधिलाई राखेर छलफल गर्नुपर्ने माग गरे बमोजिम सिडिओ हरिप्रसाद घिमिरे, एसपी रमेश थापा, सशस्त्रका एसपी सञ्जय बस्नेत र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू कटारी पुगेका थिए।

सो बैठकले नगरपालिकाले साता दिनअघि नै गठन गरेको कार्यदलले सरोकारवाला सबैसँग सम्बन्ध राखी अध्ययन गर्ने र २ महिनाभित्र प्रतिवेदन बुझाउने निर्णय भएको छ। त्यसैगरी कार्यदलले बुझाएको प्रतिवेदनले औँल्याएका समस्या र समाधानका उपायहरू कार्यान्वयन गर्ने सहमति अर्को बुँदामा छ। 

सहमति पत्रमा स्थानीयले उठाएको ऐलानी जमिनको मुआब्जा दिन जमिनको लगत सङ्कलन गर्न दिइने उल्लेख छ। यो सहमतिसँगै मङ्गलबारदेखि खानी सुचारु भएको मेयर श्रेष्ठले बताए। पीडित पक्षको माग सम्बोधन गर्ने सहमति अनुसार खानी उत्खनन र चुनढुङ्गा ओसारपसार गर्न टिफर खुल्ला भएको छ।

सिडिओ घिमिरेले स्थानीयको माग अनुसार प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुगेर स्थानीय, मजदुर, उद्योग प्रशासन र राजनीतिक दलसमेतको सहभागितामा बैठक राखेर सहमति गराएको बताए। असन्तुष्टपक्ष, उद्योग र मजदुर पक्ष सबैलाई फाइदा पुग्ने गरी के-के काम गर्नुपर्ने हो, त्यो कार्यदलले अध्ययन गरेर प्रतिवेदन बुझाउन सहमति गरी खानी सुचारु गराएको घिमिरेको भनाई छ। 

कार्यदललाई खानी निर्बाध सञ्चालन गर्न तथा स्थानीयको माग पुरा गरी भविष्यसम्म आइपर्ने समस्या पहिचान गरी दीर्घकालीन समाधानको उपाय खोज्न अधिकार प्रत्यायोजन गरिएको सिडिओ घिमिरेले बताएका छन्।

नगरपालिकाले चैत २० गते नै कटारी-८ (खानी क्षेत्र) का वडाध्यक्ष नविन्द्र तामाङको संयोजकत्वमा सर्वपक्षीय कार्यदल गठन गरेर अध्ययन गर्न भनेको थियो। सोही बमोजिम कार्यदलले काम थाल्ने भन्दै खानीस्थल जान खोज्दा स्थानीयले अवरोध गरेका थिए। नगरपालिकाको निर्णयप्रति विश्वस्त हुन नसकेको भन्दै स्थानीयले कार्यदललाई काम गर्न नदिएपछि थप विश्वस्त पार्न सिडिओ र एसपीहितको टोली बोलाएर बैठक राखेको मेयर श्रेष्ठले बताए।

स्थानीयले खानी उत्खनन तथा ढुवानीका कारण गाउँमा अत्यधिक प्रदूषण बढेको, टिफरले वर्षेनी सडक भत्काएर धुलो र धुवाँ फैलिएको, खानीको प्रदूषण घरभित्र चुलाचौका र ओछ्यानसम्म पस्ने गरेको र बालीनाली धुलोले फल्नै नदिने गुनासो गरेका छन्।

त्यस्तै लुगाफाटा र खानेकुरा प्रदूषित गरेको तथा सडक भत्काएर वर्षेनी हिँडडुल र आवागमनमा अवरोध हुने तथा आईएलओ १६९ उल्लङ्घन गरेको गाउँलेको गुनासो छ। सम्झौताका सर्तहरू उद्योगले पुरा नगरेको कुरा प्रहरी प्रशासन र नगरपालिकामा गुनासो गर्दा नियमन गर्नुको साटो उल्टै उद्योगको पक्षमा वकालत गरेपछि बाध्य भएर आन्दोलित हुनु परेको स्थानीयको भनाई छ। 

उद्योगका वरिष्ठ उपाध्यक्ष राजन झाले भने खानी उत्खनन र ओसारपसार गर्नका लागि नेपाल सरकार, उद्योग ऐन अनुसार सबै कानुनी प्रक्रिया पुरा गरिएको दावी गरे। सबै सम्झौता पुरा गरेर खानी सञ्चालनमा ल्याइए पनि बेलाबेलामा स्थानीयले विभिन्न बहाना झिकेर अवरोध गर्ने गरेको दुखेसो झाको छ।

उपाध्यक्ष झाले उद्योगले सम्झौताका शर्तनामाहरु कुनै पनि उल्लङ्घन नगरेको दाबी पनि गरेका छन्। असन्तुष्ट पक्षले दाबी गरेजस्तो उद्योगले बस्ती व्यवस्थापन, जमिनको मूअब्जा, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सबै पुरा गरेको पनि उनले बताए।

यस पटक यस्तो समस्या कम्पनीमा कार्यरत एक जना मजदुरलाई निष्कासन गरेकाले निम्तिएको उनले बताए। नियम विपरीत क्रियाकलाप गरेको पाइएपछि कम्पनीले सेवाबाट हटाउँदा यस्तो लफडा भएको झाको भनाई छ।

‘कर्मचारीले कम्पनीको नियम र निर्देशन अनुसार काम नगरेपछि एक जना निष्कासनमा परेका थिए’ झाले भने ‘त्यसै विषयलाई लिएर केही व्यक्तिले स्थानीयलाई उचालेर बन्द हडतालको काम गर्न पुगेको हामीले ठानेका छौँ।’

सिराहामा रहेको सौर्य सिमेन्टका लागि आवश्यक चुनढुङ्गा लाने गरी कटारी-८ गालतार र आसपासको भूभाग ६ हजार ४ सय ७५ वर्ग किलोमिटर क्षेत्रको चुनढुङ्गा लाने सम्झौता उद्योगले सरकारसँग गरेको छ। त्यसका लागि ०६८ देखि ०९८ सालसम्मको ३० वर्ष अवधिको सम्झौता भएको थियाे।

प्रकाशित: २८ चैत्र २०८० १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App