२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्माण कम्पनीले भन्यो, ‘स्रोत सुनिश्चित नभए कार्यस्थल फर्कन्नौं’

दोभान–बहान्दे सडकको पालुङ्वाचौक खण्ड। तस्बिर : नागरिक।

 बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ। स्रोत प्राप्तिका लागि पटकपटक पहल गर्दा पनि आश्वासन दिने तर सुनिश्चित नगर्ने गरेकाले कम्पनीले अडान दोहोर्‍याएको हो।

एपेक्स कन्स्ट्रक्सन प्रालिका साइट इञ्चार्ज अनिल चौधरीले भने, ‘सरकारले स्रोत प्राप्तिको आश्वासन दियो, तर आश्वासनअनुसार स्रोत सुनिश्चित गरेन। त्यही भएर कार्यस्थलबाट फर्कने मनसाय बनाउन थालेका छौं।’

कम्पनीले यो साताभित्र कार्य प्रगतिका आधारमा भुक्तानी हुने गरी स्रोत सुनिश्चित नभए आफुहरुले काम छाड्ने अन्तिम मनस्थिति बनाएको बताए। चौधरीले काम पूर्ण रुपमा नरोकिए पनि अपेक्षित प्रगति हुन नसकेको बताए।

कामअनुसारको भुक्तानी नपाएका कारण चार महिनादेखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिकसमेत दिन नपाएको बताउँदै आएको निर्माण कम्पनीले रकम अभावका कारण केही मजदुर काम छाडेर बाहिरिएको समेत बताएको छ।

यसअघि उसले गत माघ २३ गते कार्य प्रगतिअनुसार रकम सुनिश्चित गरी भुक्तानी गर्न सरकारलाई पन्ध्रदिने अल्टिमेटम दिएको थियो। ‘हामीले पर्खिएका पनि हौं, तर भुक्तानी गरेर समस्या समाधान गर्न सरकार तत्पर देखिएन’, चौधरीले धने।

उनका अनुसार कम्पनीका प्रमुख कार्यकारी रमेश अधिकारीको नेतृत्वको टोलीले कामअनुसारको रकम भुक्तानीका लागि सरकार र नियमक निकायसँग ताकेता गरिरहेको छ। कम्पनीका तर्फबाट भएको ताकेताप्रति सरकारले बेवास्ता गरेको चौधरीले आरोप लगाए।  

यसअघि कालोपत्रे गर्ने कार्यमा खटिने गरी आएका डिस्ट्रिबुटर अपरेटर हरि तिमल्सिनासहितको जनशक्ति बजेट अभावका कारण थप कार्य अघि बढाउन नसक्ने भएपछि अर्को साइटमा फर्किसकेको छ।

‘सवबेस राखिसकेको स्थलमा बेस राख्नैबित्तिकै कालोपत्रे सुरु गर्ने कम्पनीको तयारी थियो। साइट इन्चार्ज चौधरीका अनुसार सो अवधिमा पनि रकम नपाए कम्पनीले दोभान–बहान्दे सडकको कालोपत्रे गर्ने कार्य छाडेर जनशक्ति र उपकरण तमोर करिडोरको निर्माणाधीन क्षेत्रमा उपयोग गर्ने छ।

निर्माणस्थलमा ३ थान एक्स्काभेटर, ३ थान पानी ट्याङ्की र १–१ थान ग्रेडर र लोडर रहेका छन्। कार्य प्रगतिका आधारमा आफुहरुले रकम भुक्तानीका लागि करिब ७ करोड रुपैयाँ बराबरको बिल नियमक निकाय उत्तर दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयमा पेस गरे पनि भुक्तानी नभएको चौधरीले बताए।

चौधरीका अनुसार कम्पनीले अहिलेसम्म ६३ प्रतिशत भौतिक प्रगति गरेको छ। भुक्तानी भने ४७ प्रतिशत हाराहारी मात्र पाएको उनले बताए। कम्पनीका अनुसार वाल लगाउने, कल्भर्ट नाली बनाउने र बाटो चौडा गर्ने कार्य सकिएको छ।

१० किलोमिटर दुरीमध्ये ३.५ किमिमा सवबेस लगाउने कार्य सकिएको र बाँकी काम अघि बढेप नि स्रोत सुनिश्चित हुन नसक्दा बीचमै काम छाड्नुपर्ने दुःखद अवस्था आएको उनले जानकारी दिए। दोभान–बहानन्दे सडकको कालोपत्रे खण्डको चौडाइ ७ मिटरको हुनेछ।

नाली, ढल र मानिस हिँड्ने ठाउँ सहित १० मिटर चौडा हुने साइट इन्चार्ज चौधरीले जानकारी दिए। उक्त सडक कालोपत्रे गर्न २०७९ साल असार २३ गते भ्याटसहित कुल ३३ करोड ९९ लाख ४६ हजार २ सय २६ रुपैयाँमा एपेक्स कम्पनीले सम्झौता गरेको थियो।

कम्पनीले अहिलेसम्म कामबापत १५ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाएको छ। सम्झौता भएको महिना दिन अवधिमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मंसिर महिनाबाट काम थालेको कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ साल फागुन महिनासम्म रहेको छ।  

२०५५ सालमा ग्रामीण सडक योजनाअन्तर्गत निर्माण गर्न सुरु गरिएको बहानन्दे–दोभान सडकले प्रदेशसभाको निर्वाचन क्षेत्र नं ‘क’ र ‘ख’ लाई जोड्छ। तमोर नदीवारि र पारि गर्न यही सडक प्रयोग गर्नुपर्छ। तमोर नदीपारि मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला र मिक्वाखोला गाउँपालिका पर्छन्। यी गाउँपालिकाका नागरिकले सदरमुकाम फुङलिङ आउन बहानन्दे–दोभान सडक प्रयोग गर्नुपर्छ।

प्रकाशित: १४ फाल्गुन २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App