२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उदयपुरमा राजस्व संकलन ६३ प्रतिशत

चालु आर्थिक वर्षको माघ महिनासम्म उदयपुरको राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको छ। आर्थिक वर्ष बितेको सात महिना पूरा हुँदासम्म राजस्व संकलन लक्ष्यको ६३ प्रतिशतमै सीमित रहेको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ।

कार्यालले गते साउनयता माघ मसान्तसम्म ३९ करोड ७० लाख ८८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २५ करोड ६३ लाख मात्र संकलन गर्न सकेको छ। यो अवधिमा सबभन्दा बढी राजस्व आयकरवापत उठेको छ। आयकर यो अवधिमा १४ करोड ११ लाख ७४ हजार रुपैयाँ उठेको कार्यालयका कम्प्युटर अपरेटर रेक मगरले बताए।

उनका अनुसार ७ महिनाको अवधिमा यो अंक उठेपछि १८ करोड चार लाख ५० हजार आयक उठाउने लक्ष्य लिएको कार्यालयले ७८.२३ प्रतिशत प्रगति गरेको छ। त्यसैगरी दोस्रो ठूलो राजस्व हिस्सा मूल्य अभिबृद्धि कर (भ्याट) वापत संकलन भएको छ। भ्याटवापत राजस्व अंक नौ करोड ४१ लाख ८५ हजार संक्लन भएको मगरले बताए।  

तेस्रो ठूलो राजस्व उपभोक्ता करवापत उठेको छ। उपभोक्ता करवापत एक करोड ३० लाख १९ हजार उठेको छ भने २९ लाख ४३ हजार ब्याज कर संकलन भएको छ। कार्यालयले २४ लाख ८३ हजार बहाल कर उठाएको छ। 

प्रतिशतका हिसाबले भन्ने हो भने सबभन्दा बढी प्रगति भने उपभोक्ता कर संकलनमा भएको छ। ४७.७३ प्रतिशत उपभोक्ता कर उठाउने लक्ष्य लिएको कार्यालयले १३३.३८ प्रतिशतले प्रगति गरेको छ।  

त्यसैगरी ब्याज करवापत ५५.४० प्रतिशत उठाउने लक्ष्य लिएको कार्यालयले ४६.४१ उठाएको छ। ५२.२० प्रतिशतको लक्ष्य लिएको भ्याट भने ४८.८२ मा सीमित हुन पुगेको छ।

त्यसैगरी आयकर ११५.७६ प्रतिशत उठ्ने लक्ष्य लिएकोमा ७८.२३ प्रतिशतमा खुम्चिँदा ६५.५५ प्रतिशत राजस्व उठाउने लक्ष्य लिएको बहाल कर ३२.७० प्रतिशत मात्र उठेको छ। स्वास्थ्य कर उठाउने लक्ष्य नभए पनि ६६ हजार संकलन भएको छ।

कार्यालय प्रमुख कर अधिकृत रामबहादुर राईले सुरुवाती महिनाको दाँजोमा पछिल्लो समय कर संकलन हुने क्रम बढ्दै गएको छ। साउन र भदौमा सुस्त उठ्ने कर उठ्ती असोजमा वृद्धि भएको तथा कात्तिक र मंसिरमा सुस्त रहेको संकलन कार्य पुसमा उक्लिएको छ।

माघ महिनामा मात्र तीन करोड ६९ लाख ७० हजार राजस्व संकलन भएको अधिकृत राईले बताए। माघमा कार्यालयले चार करोड ८३ लाख ५२ हजार उठाउने लक्ष्य लिएकोमा ७६ प्रतिशत प्रगति गरेको अधिकृत राईले बताए।

कर अधिकृत राईका अनुसार गएको दुई वर्षयता खस्केको अर्थतन्त्रका कारण मन्दी आएको राजस्व संकलनले अझै राम्ररी गति लिन सकिरहेको छैन।

२०७५ देखि ०७८ सम्मको विश्व महामारी कोविड कहरले नराम्ररी थलिएको व्यापार व्यवसाय चलायमान हुन नसक्दा अर्थतन्त्रमा सुधार नआउनाले राजस्व संकलन उत्साहजनक हुन नसकेको उनी बताउँछन्।

‘कोविडले थलिएको अर्थतन्त्रले गति लिन नसकेकै कारण राजस्व संकलन उत्साहजनक रुपमा हुन सकिरहेको छैन’, अधिकृत राईले भने ‘तै पनि गत वर्षभन्दा चालु वर्ष सन्तोषजनक छ। अव विस्तारै लय समात्ने अपेक्षा गरिएको छ।’

प्रकाशित: १३ फाल्गुन २०८० १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App