२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीले गरे देशकै लामो झोलुंगे पुल उद्घाटन

निर्माण पर्खिरहेको हुलाकी राजमार्गको कमला पुल

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार कमला नदीमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन र पक्की पुल शिलान्यास गरेका छन्। उद्घाटन र शिलान्य गरिएका पुलहरूका बीचमा हुलाकी राजमार्गको मुख्य ‘कमला पुल’ भने १२ वर्षदेखि निर्माण पर्खिरहेको छ।

तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने कमला पुल १२ वर्ष लगाएर निर्माण सम्पन्न हुन लाग्दा २०७८ असारमा कमला नदीमा आएको भेलले भत्कायो। भत्केको पुल पुनः निर्माणमा सरकारको उदासीनता देखिएको यस भेगका सर्वसाधारणको गुनासो छ। सरकारले दक्षिणतर्फ झोलुंगे पुल र उत्तर करौडौंको लागतमा पक्की पुल बनाएको छ, बनाउँदै छ। तर, हुलाकी राजमार्ग जोड्ने मुख्य दुईओटा पुल अलपत्र छन्।

सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै सबभन्दा लामो झोलुंगे पुल निर्माण भएको दाबी गरिएको छ। सिराहा नगरपालिका–१३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल जोड्नेगरी कमला नदीमा निर्माण भएको करिब एक हजार ५०१ मिटर लम्बाइको सो पुल शनिबार प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको छ।

सपना–उमा–थानी जेभी बत्तीसपुतलीले ३४ करोड रूपैयाँमा गत असार १५ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र अर्थात् २०८१ असार ३१ सम्म निर्माण पूरा गर्नेगरी सम्झौता गरेको निर्माण कम्पनीले माघकै दोस्रो सतासम्म निर्माण कार्य सम्पन्न गरिसकिएको इन्जिनियर विनोद मण्डलले जानकारी दिए।

यस झोलुंगे पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा तीन हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको मण्डलले बताए। यस्तै, शनिबार प्रधानमन्त्री दाहालले धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका– ५ जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास गरेका छन्।

एक अर्ब ११ करोड लागत रहेको ६ सय मिटर लामो पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ। चालु आर्थिक वर्षमा ६० लाख रूपैयाँ पाएको यो पुल ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ।

डबल लेनको यस पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले पुल बनेपछि सिरहा र धनुषाको पूर्वीभेगका जनताले ठूलो राहत पाउने बताए। चालु आर्थिक वर्षमा कम बजेट भएपनि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउने उनले बताए।

सिरहा केन्द्रित पत्रकार देवकुमार यादवका अनुसार सञ्चालन नहुँदै भासिएको हुलाकी राजमार्गअन्तर्गतको कमला पुल पुनःनिर्माण द्रुत गतिमा हुनुपथ्र्यो। निर्माण पर्खिरहेको यसै पुलको दक्षिण झोलुंगे पुलको उद्घाटन भएको छ। उत्तरमा अर्को पुलको शिलान्यास भएको छ।

‘झोलुंगे पुलले यस भेगका आमजनको समस्या सामाधान हुँदैन, यसका लागि कमलामा पक्कि पुल नै चाहिन्छ,’ उनले भने, ‘निर्माण पर्खिरहेको मुख्य पुलप्रति सरकारको उदासीनता देखिएको छ,’ यादवले भने, ‘मधेसको लाइफ लाईन जोड्ने मुख्य पुल नै अपलत्र पर्नु बिडम्बना हो।’

यस भेगका जनताको एकस्वर छ –भासिएको पुलको पुनः निर्माण भए मात्र मधेसको लाईफ लाइन द्रुत गतिमा अघि बढ्छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधबीच ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २४ करोड ६२ लाख रूपैयाँमा ठेक्कासम्झौता गरेको थियो।

२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको थियो। तर दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो। ठेकेदारको लापर्बाहीका कारण पुल पूरा हुन नसकेपछि पुनः म्याद थपेर २०७८ असार १३ सम्म पुर्‍याइयो। पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण कमला नदीमा आएको सामान्य भेलले भासिएको यो पुलको पुनर्निर्माणको अन्योलबीच २०७९ फागुन १५ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री एवं हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ दलबलसहित यहाँ आएर चाँडै पुल बनिसक्ने आश्वासन दिएर फर्केका थिए।

उनी फर्केपछि सुस्त गतिमा काम त सुरु भयो तर कामको निरन्तरता भएन। कामको गति हेर्दा पुल चाँडै बनिहाल्ने विश्वास स्थानीयलाई छैन।

अहिले लुम्बिनी बिल्डर्सले आफ्नै खर्चमा सो पुलको पुनर्निर्माण गरिरहेको छ। चालु आवभित्र पुल पुनर्निर्माण सक्नेगरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरको भनाइ छ।

‘आगामी असारसम्ममा पुलको काम सम्पन्न हुने लक्ष्य लिइए पनि गति हेर्दा पाँच वर्षमा पनि लक्ष्य पूरा हुने देखिँदैन,’ पत्रकार यादव भन्छन्, ‘कमलामा पुल नबन्दा हजारौं सर्वसाधारणको दैनिकी सास्तीले भरिएको छ।’

प्रकाशित: १३ फाल्गुन २०८० ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App