१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल र बंगलादेशबीच विद्युत् खरिद-बिक्रीसम्बन्धी वार्ता आज

नेपालले बंगलादेशलाई निर्यात गर्ने भनिएको ४० मेगावाट बिजुलीको महसुल निर्धारणका लागि दुवै पक्षबीच आज बंगलादेशमा वार्ता हुँदै छ। नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच आज बंगलादेशमा विद्युत् महसुलको विषय टुंगो लागेको खण्डमा दुवै पक्षबीच विद्युत् खरिद बिक्री सम्झौता गर्ने तयारी छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बंगलादेशसँग विद्युत् खरिद बिक्री सम्झौताको आवश्यक प्रक्रिया टुंगो लगाउनको लागि बुधबार बंगलादेश प्रस्थान गरिसकेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले बंगलादेशलाई बेच्ने विद्युत् खरिद बिक्री दर निर्धारण गर्न बंगलादेशसँग आज दुई पक्षबीच वार्ता हुने बताए। उनले भने, ‘दुवै पक्षबीच सहमति जुटेको खण्डमा नेपालबाट बंगलादेश निर्यात गर्ने बिजुलीको विद्युत् खरिद बिक्री सम्झौता गरिने छ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बर्खायाममा भारतमा बिक्री गर्ने मूल्यकै आधारमा बंगलादेशसँग निर्यात हुने मूल्य निर्धारणको प्रस्ताव गरिने बताए। ‘हामीले छिमेकी मुलुक भारतसँग बिक्री गरेकै मूल्यमा बंगलादेशलाई बेच्ने प्रस्ताव गर्नेछौं,’ उनले भने, ‘दुवै पक्षबीचको वार्तापछि मात्रै विद्युत् खरिद बिक्री सम्झौताको मूल्य निर्धारण हुनेछ।’ प्राधिकरणले भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क ह्विलिङ चार्ज बंगलादेशले नै तिर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बंगलादेशसँगको विद्युत् खरिद बिक्री सम्झौता डलरमा हुने बताए। ‘हामीले भारत निर्यात गर्ने भन्दा कम शुल्कमा बंगलादेशसँग विद्युत् खरिद बिक्री सम्झौता गर्दैनौं,’ उनले भने, ‘भारतमा निर्यात गरेको सरदर मूल्यभन्दा केही बढी रकममै गर्ने तयारी गरिरहेका छौं।’

नेपालले भारतमा सरदर ५.५० भारु रूपैयाँमा विद्युत् बिक्री गर्दै आइरहेको छ। नेपालले २०८१ सालको वर्षायाममा मात्रै विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। नेपालले विशेष गरी जुन १५ देखि नोभेम्बर १५ सम्म मात्र विद्युत् व्यापार गर्न सक्ने छ।  

दुवैपक्षबीच महसुल दरमा सहमति जुटेसँगै ४० मेगावाट बिजुली खरिद बिक्री सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ। गत मंसिर २० गते बंगलादेश सरकारले भारतको पावरग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बंगलादेशको सञ्चारमाध्यमले जनाएका थिए।

बंगलादेशको क्याविनेट कमिटी अन इकोनोमिक्स अफेयर्सले बंगलादेश पावर डेभलपमेन्ट बोर्डको माध्यमबाट नेपालको बिजुली भारतको पावरग्रिडमार्फत खरिद गर्ने निणर्य गरेको हो। कमिटीको निणर्य अनुसार बोर्डले डायरेक्ट पर्चेज मेथडबाट विद्युत् खरिद गर्ने बताइएको छ।

गत जेठ २ गते बंगलादेशमा बसेको दुई देशबीचको सचिवस्तरीय ‘जोयन्ट स्टेयरिङ कमिटी’ को बैठकमा बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको थियो। नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका थिए।

नेपालमा उत्पादित विद्युत् ४० मेगावाटसम्म बंगलादेशमा निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति पनि त्यही बेला भएको थियो।

प्रकाशित: १० फाल्गुन २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App