१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु

गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्रे सुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु भएको हो।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्रे सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्रे हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्रे सुरु गरिएको आचार्यले बताए।

३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रेको ठेक्का पाएको थियो।

सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो। ठेक्का भए लगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढ गाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त सडकको चौडाइ सात मिटर रहनेछ। सडकमा पाँच मिटरको कालोपत्रे हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ।

कालोपत्रे सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए। 

प्रकाशित: ९ फाल्गुन २०८० १९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App