१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका होटलमा सुविधा थपिए, मूल्य थपिएन

एकसय रुपैयाँ मूल्य बढाउन सक्ने अवस्था पनि छैनः व्यावसायी

पर्यटकीय क्षेत्र लेकसाइड र त्यहाँ संचालित होटल। पाहुना आगमन कम र होटलबीचको अधिक प्रतिश्पर्धाले पोखरा सस्तो गन्तव्य बनेको व्यावसायीको भनाई छ। तस्बिरः नागरिक

व्यावसायीका अनुसार पोखरामा मात्र करिब सातसय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेडसंख्या छन। यतिधेरै होटल भएको पर्यटकीय क्षेत्रमा व्यावसायिक प्रतिश्पर्धा पनि उत्तिकै छ। कतिपय होटल अझैपनि निर्माणाधीन अवस्थामा छन्। निर्माणाधीन ती होटल संचालनमा आएसँगै कोठा संख्या अझै थपिनेछन्।  

व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा लाभ नपाएको उनीहरुको भनाई छ। पाहुनाको माग बढी तर, आगमन कम हुँदा प्रतिश्पर्धा बढ्दै जाँदा वर्षाै अघिदेखिकै मूल्यमा होटलको कोठा बेच्नुपरेको व्यावसायीको भनाई छ। होटलको कोठाको मूल्य समेत बढाउन सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ। पोखरा भित्रिएका सीमित पाहुनालाई होटलमा तान्नका लागि सस्तो मूल्यमा सेवा दिनुपरेको व्यावसायीको भनाई छ।

‘झन्डै एकदशक भयो होटलको कोठाको मूल्य बढाउन सक्ने अवस्था छैन,’ क्विन्सपार्क होटलका म्यानेजर तुलसी लामिछाने भन्छन, ‘पाहुनाको आगमन सोचेजत्तिकै उकालो लाग्न सकेन। पाहुना आगमन कमजोर हुँदा व्यावसाय चलाउन पनि हम्मेहम्मे छ।’ उनका अनुसार पाहुना कम, तर, कोठासंख्या अधिक हुँदा पोखराले पर्यटनबाट आम्दानी गुमाईरहेको छ।  

‘यति धेरै होटल छन की सस्तोमा पाहुना राख्न पोखरा बाध्य छ,’ लामिछानेले भने, ‘राम्रो मूल्य लिनसक्ने अवस्था नै छैन। होटलको संख्या धेरै हुँदा अहिले पाहुना तान्ने प्रतिश्पर्धा चलिरहँदा पोखरा नै सस्तो गन्तव्य बनेको छ।’ 

‘बेस्ट’ गन्तव्यमा सस्तो दरमा व्यापार गर्न बाध्य भएको उनले बताए। व्यावसायीका अनुसार पोखराका केही होटल मात्र छन, जसले सिजन होस वा अफसिजन बाह्रैमास राम्रो आम्दानी गरिरहेका छन। तर, मध्यमस्तरका अधिकांश होटलले निकै नै कम मूल्यमा पाहुना राखिरहेका छन। होटलको मूल्यमा अधिक बार्गेनिङ हुने गरेको छ।

‘सस्तोमा पाहुना तान्ने प्रतिश्पर्धा चलिरहँदा व्यावसायीले कमाउने अवस्था नै रहेन,’ उनले भने,  आन्तरिक प्रतिश्पर्धाले गर्दा होटलले मूल्य बढाउन सकेका छैनन।’ उनका अनुसार होटलको मूल्यमा यतिधेरै प्रतिश्पर्धा छ की एकसय रुपैयाँ पनि बढाउन सक्ने अवस्था छैन। ‘सबैतिर महंगी छ। कर्मचारीको तलब बढेको छ, खाद्यान्नदेखि इन्धनको मूल्य अकाशिएको छ। तर, होटलको मूल्य जहाँको तही छ,’ उनले भने, ‘संचालन खर्च बढ्दै जाने, तर, आम्दानी नबढ्दा सकस छ।’  

सस्तोमा कोठा पाउने अवस्था भएपनि एजेन्टले होटलसँग गर्ने बार्गेनिङ पनि बढेको उनले बताए। ‘खानेकुराको मूल्य अकाशियो, कर्मचारीको तलब पनि थपियो, अरु सामाग्रीको मूल्यले आकाश छोइसक्यो, तर, होटलको आम्दानी भने बढ्नै पाएन,’ उनले भने, ‘होटलले दिएको सेवा अनुसारको मूल्य कम छ। यो मूल्यका भरमा पर्यटन क्षेत्र टिकाउन समस्या छ। मध्यमस्तरका होटलले कमाउन नपाएको वर्षाै भईसक्यो।’  

अर्का एकजना व्यावसायीले पनि प्रडक्ट राम्रो हुँदैमा मूल्य लिन सक्ने अवस्था नरहेको बताउँछन। ‘राम्रो मूल्य पाउन सहज छैन। होटलको मूल्यमा अपग्रेड हुन सकेन। लामो समयदेखि व्यावसायीले मूल्य बढाउन सकेका छैनन,’ ती व्यावसायीले भने, ‘एकदिनका लागि राम्रो मूल्य मात्र लिएर भएन। सधैंका लागि लिन सक्ने आधार बन्नुपर्छ।’ राम्रो मूल्य पाउनका लागि पाहुनाको क्वालिटी पनि हुनुपर्ने उनले बताए। ‘पाहुना नै सस्तो खालका आएपछि उनीहरुसँग राम्रो मूल्यको अपेक्षा गर्न सकिन्न। सेवा राम्रो भएपनि पाहुना नै सस्ता छन। सस्ता पाहुनाबाट महंगो शुल्कको अपेक्षा गर्नु नै कमजोरी हो,’ उनले भने।  

अर्का एकजना व्यावसायीले होटलको कोठाको मूल्य बढाउन नपाएको लामो समय भएको बताए। २०५० सालदेखि होटल व्यावसाय थालेका ती व्यावसायीले भने, ‘२०५० को तुलनामा अहिले क्वालिटीमा धेरै नै  सुधार छ। तर, मूल्य उहिबेलाकै हो,’ ती व्यावसायीले भने, ‘कोठाको देखाउने मूल्य त पक्कै बढी छ। तर, लिने मूल्य भने  २०५० सालकै हाराहारीमा छ।’ 

ती व्यावसायीले चलाएको होटल अहिले निकै नै आधुनिक बनिसकेको छ। तर, कोठाको मूल्य भने पुरानै छ। जसोतसो आएका सीमित पाहुना पनि प्रतिश्पर्धाले बाडिँदा मूल्यमा गिरावट आएको उनले सुनाए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि होटलको मूल्यका कारण पोखरा सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य बनेको बताउँछन। पराजुलीका अनुसार सीमित होटल छाडेर धेरैले अहिले वर्षमा चारदिन मात्र आफ्नो मूल्य पाउँछन। बाँकी समय घट्दो मूल्यमा पाहुना राख्नुको विकल्प नरहेको उनले बताए। पराजुलीका अनुसार व्यावसायीले पूरा मूल्य पाउने समय भनेको नेपाली र अंग्रेजी नयाँवर्षका बेला मात्र हो। नेपाली र अंग्रेजी नयाँवर्षमा बढीमा २–२ दिनमात्र व्यावसायीले पूरै मूल्यमा पाहुना पाउने उनको भनाई छ।  

‘तोकिएको मूल्य पाउने भनेको वर्षमा चारदिन (नेपाली र अंग्रेजी नर्यावर्षका २–२ दिन) मात्र हो। अरु सबै दिन कुनै न कुनै रुपमा छुट नदिई होटलमा पाहुना पाउने अवस्था नै रहन्न। अरुबेला सस्तोमा बसेका पाहुनाले नयाँवर्षका चारदिन भने पुरै मूल्य तिर्न बाध्य हुन्छन,’ उनले भने, ‘त्यसले गर्दा आलोचना पनि हुने गरेको छ। कतिपय व्यावसायीले नयाँवर्षका दिनमा आफ्नो मूल्यलाई दोब्बर बढाएर लिँदा पनि आलोचना खेप्नुपरेको छ। तर, अरुबेलाको मूल्य निकै नै कम छ।’ दीर्घकालिन लाभ नहेरी छोटो समयमा कमाउन खोजेर नयाँवर्षका बेला बढी मूल्य लिँदा त्यसको मार अरु होटलले पनि खेप्नुपरेको उनले सुनाए।  

‘प्रतिरात चारहजार रुपैयाँ पर्ने कोठालाई तीनहजार रुपैयाँमा नबेची सुखै छैन। आफ्नो मूल्य पाउने त अंग्रेजी र नेपाली नयाँवर्षका २–२ दिन मात्र हो,’ पराजुलीले भने, ‘अरुबेला घटाएर चलाउनुको विकल्प छैन।’

 पराजुलीका अनुसार सिजनका बेला पनि ८० प्रतिशत मात्र माथि मूल्य कहिल्यै पाउँदैनन। ‘दसैपछिको सिजनको केही समयसम्म ८० प्रतिशत मूल्य पाउँछौ । अरुबेला ५० प्रतिशतसम्म मात्र मूल्य लिने हुन,’ उनले भने, ‘वर्षमा चारदिन महंगो हुन्छ, अरु दिन सबै सस्तो हो। मूल्य लिन नसक्दा पोखरा सस्तो गन्तव्य बनेको छ।’

होटल संघ पोखराका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले पोखराभित्रै ७ सय होटल र ती होटलमा ४० हजार बेड हुँदा पाहुना अपुग भएको बताए। ‘होटलमा रुम बढी भए । त्यहाँ बस्ने मान्छे नै छैनन। चाहिने भन्दा बढी कोठा बनाएका छौ। पर्यटक धेरै आउँछन भनेर बनायौं,’ उनले भने, ‘तर मूल्य लिन सकिएन।’ उनका अनुसार विभिन्न अवसरले पोखरालाई होटलका कोठा थप्न बाध्य बनाएको छ।  

व्यावसायीका अनुसार सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पोखरामा धेरै होटल बनाइए। त्यसपछि कोरोनाकालमा पनि पोखरामा होटल थपिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आउने र त्यसले विदेशी पाहुनाको बढाउन लोभमा पनि होटल थपिएका थिए। ‘अहिले भन्दा दोब्बर संखयामा पाहुना आउने हो भने मात्र पर्यटन क्षेत्र चलायमान हुनेछ,’ पराजुलीले भने, ‘अहिलेकै आकार पर्याप्त होइन। यो आकारको पाहुना आगमनले हाम्रो मागको सम्बोधन हुँदैन।  

प्रकाशित: ८ फाल्गुन २०८० १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App