१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

धर्मराएको अर्थतन्त्र तंग्रिन्छ की अझै लड्छ?

महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै शिथिल बनायो। त्यो मारबाट नेपाली अर्थतन्त्र पनि जोगिन सकेन। कोरोनाले थलिएको अर्थतन्त्रमाथि रुस–युक्रेन द्वन्द्वले झनै घिउ थप्यो। त्यसपछि त अर्थतन्त्र झनै कमजोर बन्यो।  

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराशा छाएको छ। व्यावसाय चल्न सकेको छैन। हिजोसम्म जसोतसो व्यावसाय चलेका घरका सटर पनि खाली भईरहेका छन । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ। यतिसम्मकी चियाचौतारीमा समेत अर्थतन्त्रको असर परेको छ।

सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तंग्रिन्छ की अझै लड्छ? भन्नेमा छ।

पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्रः तंग्रिन्छ की लड्छ? भन्ने विषयउमा गहल छलफल भयो। सरोकारवालाले भने अर्थतन्त्रमा सुधार भइरहेको दाबी गरे। व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत दुई दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए। ‘अर्थतन्त्र धर्मराउदै धर्मराउदै एउटा विन्दुमा पुग्छ। ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउछ’, उनले भने।  

अहिलेको भने निजी क्षेत्र निकै निराश रहेको उनको भनाइ छ। ‘बजारमा व्यापार एकदम तल आएको छ। मागको कमी छ। माग कमी हुनुको मतलव व्यापार व्यवसायमा जो छ उ निश्चय नै निराश हुन्छ। सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै,’ उनले भने।  

बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ।  ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ। बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयं पुँजी चाहियो। बजारमा आत्मविश्वास चाहियो,’ श्रेष्ठले थपे, अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्विर्काछन्। उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ।’

अर्थमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट पनि अर्थतन्त्रमा सुधार भइरहेको बताउँछन्। दुइवर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा निकै नै दबाब रहेपनि अहिले सुधार भएको उनले बताए। ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो। अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ,’ उनले भने, ‘दुइवर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो। नेपाल कतै श्रीलंका त बन्दैन भनेर त्यो बेला जनतामा समेत निराशापन थियो। हामी त्यहाँबाट माथि उठेको अवस्था छ। त्यसका एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति।’

भट्टले भने ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं। ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं। त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं।’

डेढ–दुई वर्ष अघिसम्म त बैंकहरुसँग कर्जा दिने पैसा पनि नभएको उनले सुनाए। उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो। अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ।  

‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ। ब्याजदर पनि तल आइरहेको छ,’ अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा। गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाहा गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ।’  

सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे। ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन। आर्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन,’ उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो। ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आम मान्छेले महसुश गर्ने मुद्रास्फिति मुल्य वृद्धि पनि उच्च छ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ।  

स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाह नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन्। अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ।  

‘निष्क्रिय कर्जा बढेको देखिन्छ। यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन। निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने।  

उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक ह¥यौं भने प्रति व्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौं। बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ। क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो। जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ।’  

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए। ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ। अर्थमन्त्रालय, राष्ट्रबैंक, निजि क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्र्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ। एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ। अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ। स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ। 

प्रकाशित: ४ फाल्गुन २०८० १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App