१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

उदयपुरमा ‘दोस्रो प्रदेशस्तरीय महोत्सव त्रियुगा’ सुरु

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री केदार कार्की। तस्विरः नागरिक

‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजना, त्रियुगा नगरपालिकाको सहकार्य र नेपाल उद्योग वाणिज्य संघको प्रवद्र्धनमा सुरु महोत्सव फागुन १० सम्म सञ्चालन हुनेछ।

गाईघाटस्थित पूर्व–पश्चिम बरुवा बसपार्कपरिसरमा सुरु भएको महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख महत्व दिएर स्टल राखिएको छ। आयोजक संघका अध्यक्ष रमेश रसाइलीका अनुसार महोत्सवमा एक सय ५० स्टल रहेका छन्।

यस वर्षको महोत्सवलाई पर्यटन, कृषि र उद्योगलाई विशेष महत्व दिइएको छ। लघु तथा घरेलु उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीका विलासिताका सामग्रीको समेत महोत्सवमा प्रदर्शन तथा बिक्री वितरण हुने रसाइलीले बताए।

महोत्सवको अवसर पारेर सदरमुकाममा पहिलोपटक प्याराग्लाइडिङ, र्‍याफ्टिङ  र साइक्लिङ पर्यटन पनि गराइने छ। त्यसैगरी विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत दुई दर्जन राष्ट्रिय कलाकार तथा दर्जनौं स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिने आयोजक संघका महासचिव दिनेश श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार महोत्सवलाई बृहत् र भव्य बनाउन प्रदेश १ का १४ वटै जिल्लाबाट कृषि, उद्यम र व्यापारिक उत्पादन बिक्रीका लागि स्टल राखिएको छ। महोत्सवमा प्रदेशका १४ मध्ये ९ जिल्लाबाट उद्यम व्यवसायीको सहभागिता गराइएको संघले जनाएको छ।

विभिन्न कलाकारको प्रस्तुतिसमेत रहने यस महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०८० १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App