१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

अब सुन नदीमा ‘र्‍याफ्टिङ सरर’

सुन नदीमा परीक्षण र्‍याफ्टिङ गर्दै पर्यटकहरु। तस्बिर: महेश्वर/नागरिक

खोटाङ र उदयपुरको सीमा भएर बग्ने सुन नदीमा अब नियमित जल पर्यटन (र्‍याफ्टिङ) सेवा सञ्चालनमा आउने भएको छ। होटल तथा पर्यटन व्यवसायी संघ, उदयपुरको अगुवाइमा र्‍याफ्टिङ सेवा सञ्चालन गर्न लागिएको हो।

सुन नदी विश्वका १० उत्कृष्ट सेता पानी बग्ने नदीभित्र सूचिकृत भएको छ। विश्वका १० उत्कृष्ट ‘ह्वाईट वाटर र्‍याफ्टिङ’ का लागि सूचीकृत भएसँगै यहाँ राफ्टिङ व्यवसाय सञ्चालन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिड बस्नेतले बताए।

त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गतेदेखि सुरु हुन लागेको १० दिने ‘दोस्रो प्रदेश महोत्सव ०८०’ को अवसर पारेर संघले र्‍याफ्टिङ सेवा सञ्चालन गर्न लागेको पनि बस्नेतले बताए।

राफ्टिङ सेवा सञ्चालन गर्नका लागि होटल तथा पर्यटन संघले काठमाडौँस्थित माउण्टेन रिफर र्‍याफ्टिङ कम्पनीसँग कार्यगत एकता गरेको छ। अध्यक्ष बस्नेतका अनुसार सो कम्पनीको प्राविधिक सहयोगमा रौतामाई गाउँपालिका-५ फोक्सिन्टारदेखि सुरु हुने र्‍याफ्टिङ त्रियुगा नगपालिका-१४ को धाब्लाङमा आएर टुंगिनेछ। 

१३ किलोमिटर दूरीको जल विहारले अढाई घण्टाको समय पर्यटकहरूलाई भरपुर आनन्द दिने बस्नेतले बताए।

संघका महासचिव इश्वरमान राईले राफ्टिङ गर्न इच्छुक पर्यटकका लागि टिकट बुकिङ खुल्ला गरिसकिएको बताए। उनका अनुसार पर्यटकलाई हरेक दिन बिहान गाईघाटबाट बस चढाएर साउने, रानीबास, अँधेरी, पोखरी हुँदै फोक्सिन्टार पुर्‍याइनेछ। यो बीचमा खाजा र विश्रामको व्यवस्था संघले नै गर्नेछ। फोक्सिन्टारदेखि सुरु भएको र्‍याफ्टिङ नदी बीचमै पर्ने राँकुली छाँगामा बिसाउने व्यवस्था मिलाइएको छ।

त्यहाँ केहीबेर आरामपछि धाब्लाङसम्मको र्‍याफ्टिङ यात्रा सुचारु हुनेछ। गन्तव्य पुरा भएपछि धाब्लाङका होमस्टेहरुमा अर्ग्यानिक र रैथाने अन्न र इच्छा अनुसार लोकल कुखुरा तथा माछा मासु (शाकाहारी पनि) सहितको खानाको व्यवस्था संघले नै मिलाएको छ। 

खाना खाएर केहीबेर आराम गर्दागर्दै फोक्सिन्टारसम्म पुर्‍याउन लगेको बस नै पर्यटक लिन धाब्लाङ आईपुग्छ। त्यहाँबाट बस चढेर पर्यटकहरु धाब्ला–साउने जोड्ने नागबेली सडक उक्लेर साँझमा गाईघाट आइपुग्ने कार्यक्रम बनाइएको छ।

गाईघाट आएका पर्यटकहरूलाई इच्छा अनुसार होटल रोजेर बस्ने व्यवस्था मिलाइएको छ।

सङ्घकी वरिष्ठ उपाध्यक्ष सुनिता राईले र्‍याफ्टिङ सेवा लिने पर्यटकहरूलाई प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँको प्याकेज शुल्क निर्धारण गरिएको बताइन्। 

उनका अनुसार सो शुल्कले पर्यटकलाई गाईघाटदेखि बस सेवामा फोक्सिन्टार, त्यहाँबाट धाब्लाङसम्म र्‍याफ्टिङ गराएर घाब्लाङबाट पुनः गाईघाटसम्म बसले ल्याइदिने सेवा समेटिएको छ।

प्रति सिफ्ट १६ जना पर्यटक दुई वटा डुङ्गा (बोट) मा ८–८ जना राखेर गाइड (पथ प्रदर्शक)सहित सुरक्षित र्‍याफ्टिङ गराउने उपाध्यक्ष राईले सुनाइन्।

पर्यटकीय गाउँपालिका रौतामाइले ६ वर्षअघि नै सुन नदीमा र्‍याफ्टिङको सफल परीक्षण गरेको थियो। परीक्षण सफल भएर व्यावसायिक राफ्टिङ सेवा सञ्चालन गर्ने तयारी भइरहेकै बेला विश्व महामारी कोभिड १९ आइपरेपछि कार्यक्रम रोकिन पुग्यो। कोभिड कहरबाट बल्ल पार पाएपछि होटल व्यवसायीहरूले नियमित र्‍याफ्टिङ सञ्चालन गर्न लागेका हुन्।

प्रकाशित: २९ माघ २०८० २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App