१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन घोषणा

मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। 

मायाको पहिचान नेपालले पत्रकार सम्मेलन गरेर अप्रिलको २० र २१ मा यो सम्मेलन हुने जानकारी दिएको हो। सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन खुल्ला भएको छ। यात्रा टु ह्यापिनेस डटकमद्वारा भाग लिन चाहनेहरूले नाम दर्ता गर्न सक्ने छन्।

नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू, सञ्चारकर्मीहरू तथा सेलिब्रेटीहरुलाई आमन्त्रण गरिने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए।

कार्यकारी निर्देशक पन्तले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्‍याउनका लागि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका पन्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई सक्रिय सहभागी भएर यथाशक्य सहयोग गर्नका लागि पन्तले आव्हान गरे।

नेपालले यो पर्यटनलाई प्रवर्धन गर्दै गर्दा नेपालको संस्कृति, रहनसहन, भेसभुसा, चाडपर्व, खानपान लगायतका मौलिक कुराहरूलाई संरक्षण र संवर्द्धन गरिने गरी यो पर्यटनलाई बढवा गरिने उनले बताए।

उनले विश्वमा वर्षको करिब ५ सय बिलियन डलर भन्दा बढी रेन्बो टुरिजम व्यवसाय हुने गरेकोमा यसबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गरे। ‘नेपालको भौगोलिक स्थितिलाई हेर्दा पनि दुई ठुला छिमेकी राष्ट्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार त्यति आसलाग्दो देखिएको छैन,’पन्तले भने, ‘भारत तथा चीनका यो समुदायका रेन्बो पर्यटकहरू नेपालमा आउने सम्भावना धेरै छ। हामीले स्वागत गर्नु पर्छ।’

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण सेगमेन्ट भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताइन। नेपाल पर्यटन बोर्डले यो सम्मेलन सफल पार्न तथा रेन्बो पर्यटनलाई नेपाल भित्र्याउनका लागि सक्दो सहयोग गर्ने र थप कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता उनले जनाइन।

सम्मेलनको प्रचारप्रसारका लागि स्टार प्रमोटरका रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बुलाई घोषणा गरिएको छ। लेक्सले आफूलाई स्टार प्रमोटर हुन पाएकोमा हर्ष व्यक्त गरे।

यो सम्मेलनलाई सफल पार्न तथा नेपालमा रेन्बो टुरिजम प्रवर्धन गर्नका लागि आफूले सक्दो भूमिका निभाउने उनले बताए। २३ वर्ष युकेमा बसेका लेक्सले यो सम्मेलनले  बिजनेस टुरिजम समावेशी छ भन्ने देखाउने बताए। 

प्रकाशित: २६ माघ २०८० १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App