२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्यात प्रवर्धन गर्न नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात प्रवर्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए।

निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य वस्तुहरूको प्रवर्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन्।

‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्ब ९३ अर्ब रूपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ’, उनले भने ।
नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रूपैयाँ भन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको मल्लले बताए।

जडिबुटीजन्य वस्तुहरूको उपभोग र निर्यात सम्बन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। यस्तै निर्यात प्रवर्धनका लागि अनलाइन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए।

‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ। मुलुकभित्रका प्राकृतिक स्रोत एवं साधानहरू सम्बन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ’, उनले भने।

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत मल्लले जोड दिए। निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरूलाई समावेश गर्न सकिए रोजगारी समस्या केही हदसम्म हल गर्न सकिने उनको भनाइ छ। राज्यको पढ्दै कमाउँदै गर्ने नीतिलाई औद्योगिक एवं व्यावसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

प्रकाशित: १९ माघ २०८० ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App