सिन्धुपाल्चोक – ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन्। सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसीले ज्याला दिन बिलम्ब गरेको भन्दै बुधबार साँझदेखि उनीहरु काम रोकेर हड्तालमा उत्रिएका थिए। आयोजनाको अग्रसरतामा ठेकेदार कम्पनीले सोमबार मजदुरको ज्याला भूक्तानी दिएपछि मंगलबार बिहानीको ‘सिफ्ट’बाट उनीहरु काममा फर्केका हुन्।
‘मजदुर काममा फर्के। सुरुङ खन्न जुटिरहेका छन्,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘अन्तिम चरणमा पुगेको सुरुङ निर्माण यस्ता बन्द, हड्तालले प्रभावित हुने छ।’ उनले जति दिन काम हुन सक्दैन, त्यति नै दिन आयोजना सम्पन्न गर्ने लक्ष्य धकेलिने बताए। बिहीबार र शुक्रबार फागुपूर्णिमा बिदा परेकाले मजदुर हड्तालका कारण तीन दिन सुरुङ निर्माण ठप्प हुन पुगेको थियो। हड्तालले झण्डै २४ मिटर सुरुङ निर्माण पछाडि धकेलिएको आयोजना प्रमुख देबकाटाले बताए। उनका अनुसार दैनिक आठ मिटरका दरले सुरुङ निर्माण हुँदै आएको छ।
सोढ २७ किलोमिटर लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ सय ९० मिटर मात्र बाँकी छ। बुधबार बिहानी र दिउँसोको सिफ्ट काम गरेका मजदुर बेलुकाको समय काममा नगइ हड्तालमा उत्रिएका थिए। चाडपर्बबाहेक शनिबारका दिनसमेत तीन सिफ्टमा सुरुङ खन्ने काम हुँदै आएको छ।
‘मजदुरले दुई महिनादेखि ज्याला पाएका रहेनछन्,’ कार्यकारी निर्देशक देबकोटा भन्छन्, ‘बीचमा पर्व परेकाले शुक्रबार मात्र थाहा पायौँ।’ काम रोकिएको थाहा पाउना साथ ठेकेदार कम्पनीका अधिकारीलाई बोलाएर तत्काल समाधान निकाल्न आयोजनाले निर्देशन दिएको उनले बताए। निर्देशनपछि ठेकेदारले सोमबार मजदुरले पाउनुपर्ने सबै ज्याला भूक्तानी दिएको थियो।
७.७ किमी लामो सुरुङमार्ग रहने सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले काम भइरहेको हो। यो खण्ड र इन्टेक रहने अम्बाथानमा कार्यरत झण्डै २ सय मजदुर हड्तालमा उत्रिएका थिए। सुरुङमार्गको तीनमध्ये सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थु्र भइसकेको छ। सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्षको पुसमा र ८.२ किमि ग्याल्थुम–अम्बाथान खण्ड गएको मध्यपुुसमा ब्रेक थ्रु भएको थियो।
भौगर्भिक अवस्थाले बाँकी खण्डको सुरुङ अपेक्षाकृत खन्ने काम हुन नसकेको आयोजनाले जनाएको छ। ‘सिन्धु–ग्याल्थुम खण्डमा अत्यन्त कमलो र कमजोर चट्टान, माटो भेटिएको छ,’ कार्यकारी निर्देशक देबकोटा भन्छन्, ‘उच्च सावधानी अपनाएर काम गर्नुपर्ने बाध्यताले ढिलाई भइरहेको छ।’ कमजोर भूभागमा पर्याप्त र शक्तिशाली विस्फोट गर्न मिल्दैन।
भाखा सार्दै आयोजनाले आउँदो असार मशान्तसम्म मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल खसाल्ने लक्ष्य लिएको छ। पछिल्लो निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न अहिले बाँकी, सुरुङ खन्ने, सकिएको सुरुङ ढलान (फिनिसिङ) गर्ने र अम्बाथानमा इन्टेक बनाउने काम एकसाथ भइरहेको छ।
‘साढे तीन किलोमिटर सुरुङ फिनिसिङ भइसकेको आयोजनाले जनाएको छ। ८ सय मिटर अम्बाथान–इन्टेक खण्डको सुरु फिनिसिङ भइसकेको छ। सुन्दरीजल–सिन्धु खण्डको दुबैतिरबाट सुरुङ ढलान भइरहेको छ। ‘बीचमा कुनै अवरोध नआए २५ देखि ३० दिनभित्र सुरुङ खनिसक्छौँ। झण्डै चार महिना लाग्ने अनुमान गरिएको फिनिसिङको काम सुरु भइसकेको छ,’ देवकोटाले भने, ‘यसो हुँदा असारभित्र राजधानीवासीलाई मेलम्ची पानी खुवाउन सक्छौँ भन्ने विश्वास छ।’
अम्बाथानमा इन्टेक बनाउने काम सुरु भए पनि त्यो सम्पन्न हुन अझै ६ महिना लाग्ने आयोजनाका अधिकारी बताउँछन्। इन्टेकको काम भइरहँदा अस्थायी संरचना बनाएर मेलम्ची पानी सुरुङमा छिराइने आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले जानकारी दिए।
प्रकाशित: २२ फाल्गुन २०७४ १३:४८ मंगलबार