२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बल्ल खन्न थालियो सिद्धबाबा सुरुङमार्ग

फाइल तस्वीर

ठेक्का सम्झौता भएको २२ महिनापछि बुटबल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटरको सिद्धबाबा सुरुङमार्गको सुरुङ खन्न थालिएको हो।

सिद्धबाबा सुरुङमार्ग योजनाका योजना प्रमुख रामपुकार जयसवालले एक सातादेखि बुटबल–पाल्पा जोड्ने सुरुङमार्ग निर्माणको काम सुरु गरिएको बताए। ‘एक सातादेखि सिद्धबाबाको सुरुङको मन्दिरतर्फबाट खन्ने काम सुरु गरिएको छ,’ उनले भने, ‘ठेक्का सम्झौता अनुसार यो सुरुङमार्ग पाँचवर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।’

यो सुरुङमार्गको ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो। ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले पाएको थियो।

कर्पाेरेसनले प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, कमिसनिङ एन्ड अपरेसन एन्ड मेन्टिनेन्स मोडलमा पाएको हो। यो निर्माण कम्पनीले निर्माण सम्पन्न गरेसँगै पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी पनि पाएको हो।

बुटबल–तानसेन खन्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्मको सुरुङमार्ग खन्न लागिएको हो। ‘अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग मान्दिरतर्फबाट खन्ने काम सुरु गरिसकेका छौं,’ उनले भने, ‘अर्काे पोर्टलबाट सुरुङ खन्ने काम केही समयभित्रै सुरु हुनेछ।’

सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार सुरुङमार्ग निर्माण पूर्वका लागि आवश्यक पर्ने कामदार बस्ने क्याम्प लगायतको संरचना तयार भइसकेको जनाएको छ। योजना कार्यालयले बर्सात अगावै सुरुङमार्ग खन्ने तयारी भए पनि बाढी पहिरोको कारणले केही समय पछाडि धकेलिएको थियो।

सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ, सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै सात सय ८० मिटर क्षेत्रको सडकमा रक सेटको संरचनासमेत तयार पार्नुपर्नेछ। अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ।

योजना कार्यालयका अनुसार सुरुङमार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकललगायतका काम हुँदै आइरहेको छ। निर्माण व्यवसायीबाट सम्पन्न डिजाइन स्वीस कन्सल्ट्यान्टबाट रिभ्यु हुँदै आइरहेको छ।

सिद्धबाबा टनेलको दुवै पोर्टलको स्लोब स्टेबलाइजिङ कार्य र सब होरिजेन्टल कंक्रिट स्ल्याबको डिजाइन ड्रइङहरू स्विस कन्सल्ट्यान्टबाट सिफारिस भई सडक विभागबाट स्वीकृत भइसकेको छ।  

प्रकाशित: ९ माघ २०८० ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App