२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल

फाइल तस्बिर : नागरिक

कञ्चनपुर-कमला सडक निर्माण काममा चिनियाँ ठेकेदार कम्पनीले आलटाल गर्दा ३९ महिनामा ४१ प्रतिशत मात्र काम भएको छ।

ठेकेदार कम्पनीले निर्धारित समयमै काम गरेको भए कञ्चनपुर–कमला सडक खण्ड गत अक्टोबर २८ तारिखभित्रै निर्माण सम्पन्न भइसक्ने थियो। चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण यो सडक खण्ड निर्माणको काम अधुरो भएको हो। कञ्चनपुर–कमला योजना कार्यालयले तीन वर्षअघि ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो।

सो योजनाअन्तर्गत ५४ पुल, ८ अन्डरपास र दुई वटा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। यो योजनाको काम २९ अक्टोबर २०२० मा सुरु भएर २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। चिनियाँ कम्पनीकै लापर्बाहीका कारण यो सडक स्तरोन्नतिको काम हालसम्म समग्रमा ४१.४७ प्रतिशत मात्रै भएको छ।

सरकारले कञ्चनपुर–कमला सडकको ८६.८३ किलोमिटर सडकमध्ये ७०.३३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गरिँदैछ भने १६.५० किलोमिटर सडक सडकमा चारलेनसहित दुईतर्फ ६-६ मिटरको सर्भिसलेन विस्तार गरिँदै छ।

आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडाराज ढकालले कञ्चनपुर –कमला सडक खण्डको सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा हुन नसकेको बताए। ‘अहिलेसम्म यो सडक खण्डको समष्टिगत भौतिक प्रगति ४१.४७ प्रतिशत मात्रै भएको छ,’ उनले भने ‘अहिलेसम्म दुई लेनको २०.१२ किलोमिटर सडक कालोपत्र भइसकेको छ।’

निर्देशनालयका अनुसार आयोजनाअन्तर्गत ५४ वटा मेजर पुल, २१८ वटा कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ। तीमध्ये हालसम्म दुई सय पाँच वटा कल्भर्ट तयार भइसकेका छन्। त्यसैगरी २७.१७ किलोमिटर दुई लेनको बेस र ७४.४१ किलोमिटर सब बेस तयार भइसकेको छ।

निर्देशनालयका अनुसार ७४.९६ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेमा हालसम्म १९.०८ किलोमिटर तयार भइसकेको छ। आयोजना निर्देशक ढकालले गत चैतभन्दा अघि र चैतपछिको नौ महिनामा अपेक्षाकृत नभए पनि निर्माणको काम सुधारोन्मुख भएको बताए।

उनले भने, ‘२०७९ को चैत अगाडि २५ महिनामा २९.३८ प्रतिशत मात्रै थियो,’ उनले भने, ‘अहिलेको प्रगति भने ४१.४७ प्रतिशत पुगेको छ ।’ २०७९ चैत अघिसम्म १८८ वटा कल्भर्ट मात्र निर्माण भएका थिए। दुई लेनको २६ किलोमिटर सबबेस तयार भएको थियो।

निर्देशनालयले पछिल्लो नौ महिनामा ३० वटा कल्भर्ट, ४८.४१ किलोमिटर सबवेस, २७.१७ किलोमिटर दुई लेनको बेस तयार भएको छ। त्यसैगरी दुई लेनको २०.१२ किलोमिटर बाइन्डिङ कोर्ष तयार भएको छ। पछिल्लो नौ महिनाको अवधिमा १७.४२ किलोमिटर दुई लेनको अस्फाल्ट कंक्रिटको काम समेत भएको छ।

चाइना रेल्वे इन्जिनियरिङ दुई ग्रुप कम्पनी लिमिटेडले अहिले कञ्चनपुर कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्डको निर्माणको काम गरिरहेको छ। गत डिसेम्बरसम्म मासिक पाँच प्रतिशत भौतिक प्रगति गरेको कम्पनीले फेरि सडक स्तरोन्नतिको काममा आलटाल गर्दै आइरहेको छ।

यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ हजार ९३८ रूपैयाँ राखिएको छ। यो योजनाअन्तर्गत आठ वटा अन्डरपास निर्माण गरिँदैछ। निर्देशनालयले यो सडक खण्डको म्याद २०२४ डिसेम्बर २८ सम्म थप गरेको छ।

प्रकाशित: ४ माघ २०८० ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App