खोटाङ – धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।
दुई वर्षभित्र पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा–७ महादेवस्थान काभ्रेडाँडामा निकाल्ने गरी काम सुरु गरिएको हो । आयोजना निर्माणको जिम्मा दिवामहादेव–खिम्ती जेभीले पाएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय प्रमुख विजयकुमार ठाकुरले बताए । निर्माण कम्पनीले हाल मुख्य ट्यांकी बनाइने स्थान, निर्माणस्थल पुग्ने सडक निर्माण, नदीदेखि मेन ट्यांकीबीचको मेनलाइन निर्माण सर्भे, शाखा लाइन सर्भेलगायत काम सुरु गरेको छ ।‘निर्माण स्थल पुग्ने सडक निर्माण सुरु भएको छ । सरकार र निर्माण कम्पनीका प्राविधिकबाट मेनलाइन निर्माण सर्भेको काम पनि सकिएको छ,’ ठाकुरले भने, ‘शाखा लाइन सर्भेका काम पनि जारी छ । अब आयोजनाको काम निरन्तर चल्छ।’
पानीको स्रोत नभएको, भएका सुक्दै गएको र अन्यत्रबाट ल्याउने सम्भावना कम भएका कारण हलेसी क्षेत्रमा नदीको पानी निकाल्ने अन्तिम विकल्प खोजिएको हो । खानेपानीको विकराल समस्या भएका कारण २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषित यो नगरपालिकाभित्रका महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडाका ३ हजार ७ सय ५६ घरधुरीलाई पानी उलपब्ध गराउने लक्ष्यका साथ पम्पिङ आयोजनाको काम अघि बढाइएको हो।
करिब ९१ करोड ८५ हजार रुपैयाँबराबर लागतमा दूधकोसीका दुई स्थानबाट महादेवस्थानका काभ्रेडाँडा र डिकुवा भुम्जुडाँडामा पानी निकालेर वितरण गर्ने लक्ष्य छ । वडा–९ सल्ले महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिने नदीको पानी महादेवस्थान, दुर्छिम, मंगलटार र बडहरेका लागि तथा वडा–१ बाहुनीडाँडा लुलीमाबाट च्यास्मीटार, डिकुवा र बडहरेमा वितरण गरिने खोटाङ वृहत पम्पिङ खानेपानी योजना तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष ईवन राईले बताए।
हलेसी क्षेत्रान दूधकोसीबाट दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने योजना छ । काभ्रे र भुम्जुमा ४÷४ लाख लिटर क्षमतायुक्त ट्यांकीमा संकलन गरी गाउँमा वितरण गरिने छ । एउटा लाइन बिग्रिए अर्को चलाउन समानान्तर मोटर, पाइप, ट्यांकी निर्माण गर्ने राईले बताए । आयोजनाका लागि जिल्ला जलस्रोत समितिमार्फत ३५ दिने सूचना जारी गरेर मुहान दर्ता प्रक्रिया अघि बढाइएको छ । यसका लागि उपभोक्ताबाट प्रतिघर २ हजार ५ सय रुपैयाँका दरले मर्मत कोष बनाउने र परिचयपत्र बाँड्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ।
मध्यपहाडी लोकमार्गले छोएको सुक्खाग्रस्त वडाका दायाँबायाँबाट सुनकोसी र दूधकोसी बगे पनि पिउने पानीको चरम अभाव छ । उत्तरी क्षेत्रमा पर्ने तापखोला, भांगु खोला, चिमचिमा खोला, नाखाम खोलाबाट सुक्खाग्रस्त क्षेत्रका गाविसमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको समितिले जनाएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा सुनकोसीको पानी तान्न आयोजना सुरु भएसँगै हलेसी क्षेत्रमा पनि नदीकै पानी निकाल्ने काम थालिएको हो । हलेसीस्थित रानीपोखरीको पानी लिफ्ट गरेर बजारमा वितरण गर्ने काम सफल भइसकेका कारण सुक्खाग्रस्त क्षेत्रका उपभोक्ता नदीको पानी गाउँमा निस्कनेमा आशावादी छन्।
सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको विकल्प छैन । पानीको स्रोत नभएको तथा जनसंख्या वृद्धिका कारण भएका स्रोत अपुग हुन थालेका कारण हलेसी क्षेत्रलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । यी क्षेत्रका कतिपय ठाउँमा वर्षाको पानी संकलन गरी पिउन, लुगा धुन र गाईवस्तुलाई खुवाउन उपयोग गर्ने गरिएको छ । पिउने पानी अभाव चर्किए पनि च्यास्मीटारका धारामा नुहाउन र लुगा धुन रोक लगाइएको छ । पानी अभावका कारण होटलमा बास बसेका ग्राहकलाई हातमुख र खुट्टा धुने पानी पाउन धौ–धौ पर्छ।
त्यस्तै रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका आसपासबाट हलेसी क्षेत्रमा पानी लैजान २०६३ देखि २०६९ सम्म दुर्छिमका कुबेर राईको नेतृत्वमा पहल गरिएको थियो । अन्तमा स्थानीयले मुहान दिन नचाहेपछि पाथेकाबाट पानी ल्याउने चर्चा सेलाएको थियो । सुक्खाग्रस्त क्षेत्र निरीक्षण गर्न खानेपानी तथा ढल निकास विभागको योजना शाखा प्रमुख दीपक पुरी आएलगत्तै २०७२ चैत २८ देखि तीन दिन लगाएर पूर्णसर्वेक्षण गरिएको थियो।
प्रकाशित: १४ फाल्गुन २०७४ ०२:२८ सोमबार