१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्ची एक उद्घाटन अनेक

विकृत राजनीतिले गिजोलिएको आयोजना

बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्चीको पानी स्थायी तवरले काठमाडौं उपत्यकामा ल्याउनेभन्दा पनि अस्थायी रूपमा ल्याएर वितरण शुभारम्भ गर्न रमाउने प्रवृत्ति झाँगिँदै गएको छ। मेलम्ची नदीमा बाढी आएको तीन वर्ष भइसक्यो। मेलम्ची खानेपानी आयोजनाको बाँधलाई स्थायी बनाएर बाह्रैमास पानी ल्याउने प्रबन्ध गर्नुको साटो प्रधानमन्त्री तथा मन्त्रीहरू अस्थायी रूपमा ल्याएर सस्तो लोकप्रियता कमाउन उद्यत देखिन्छन्।

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

मेलम्चीको पानी वितरण शुभारम्भ र उद्घाटनको फेहरिस्त लामो छ। सबैभन्दा धेरै पटक उद्घाटन र शुभारम्भ भएको आयोजनामा मेलम्ची नै पर्छ होला। बर्सेनि वर्षायाममा बाढी आउने र हिउँदमा मर्मतसम्भार गरेर पानी ल्याउँदा पनि उद्घाटन र शुभारम्भ गर्ने मोहबाट राजनीतिक नेतृत्व मुक्त हुन सकेको छैन। मेलम्चीको पानी उपत्यकामा पहिलो पटक २०७७ चैतमा वितरण गरिएको थियो।

तीन महिना नबित्दै २०७८ असारमा बाढीपहिरोले मेलम्चीको हेडवक्र्स (बाँध) क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले क्षतिग्रस्त हेडवक्र्स मर्मत गरी पानी दोस्रो पटक २०७९ वैशाख ११ गते उपत्यकामा ल्याइएको थियो। त्यसैगरी तेस्रो पटक २०७९ मंसिर २३ गते मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो। चौथोपटक २०८० माघ १ गते (सोमबार) शुभारम्भ गरेर वितरण गरिँदैछ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले सोमबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गरिने बताए। ‘सोमबार उपत्यकामा मेलम्चीको पानी वितरण शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल र खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नेछन्।

अन्सारीका अनुसार गेग्रान पन्छाउने कामको बिमा गरे पनि दाबीबापतको रकम अझै प्राप्त हुन सकेको छैन। ‘अहिले पनि मेलम्चीको पानी अस्थायी रूपमै ल्याएर वितरण गर्न लागिएको हो,’ उनले भने, ‘वर्षायाम सुरु भएसँगै पानी आउन बन्द हुनेछ।’ उनले मेलम्चीको पानी नियमित वितरण हुनेगरी दीर्घकालीन समस्या समाधान गर्न इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञ प्राविधिकबाट प्रस्ताव आइसकेको बताए। ‘विज्ञ प्राविधिकहरूबाट प्रस्ताव आइसकेको छ। प्रस्ताव विभिन्न चरणमा छलफल भए पनि पारित भएको छैन,’ उनले भने, ‘दीर्घकालीन प्रस्तावमा अम्बाथानस्थित हेडवक्र्सको संरचना करिब ५/६ सय मिटरमाथि सार्नुपर्ने उल्लेख छ। पानीको इन्टेक पनि सुरुङभित्रै निर्माण गर्ने प्रस्तावमा उल्लेख छ।’

अन्सारीले मेलम्चीमा बारम्बार बाढी आइरहने भएकाले सतहसँगै मिल्नेगरी मल्टिपल हेडवक्र्सको संरचना निर्माण गर्न लागिएको बताए। ‘दीर्घकालीन रूपमा नयाँ हेडवक्र्सको संरचना बनाउने विषयमा आवश्यक छलफल भइरहेको छ’, उनले भने, ‘कस्तो संरचना निर्माण गर्ने भन्ने टुंगो लागेको छैन।’

मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बोर्ड बैठकले साइनो हाइड्रोपावर कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेर २८ दिनभित्रै मेलम्चीको पानी उपत्यका ल्याएर वितरण गर्ने निर्णय गरेको थियो। गत असार ८ गते मेलम्चीको पानी सुरुङमा पठाउन बन्द गरिएको थियो। साउन २८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएका कारण पुनः हेडवक्र्स पुरिएको र पहुँच सडकसमेत क्षतिग्रस्त भएकाले तत्काल पानी पथान्तरणको काम रोकिएको थियो।  

प्रकाशित: १ माघ २०८० ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App