१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशबाट फर्केर ३५ जनालाई रोजगारी

वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले स्वदेशमै बेतबाँस उद्योग सञ्चालन गरेर ३५ जनालाई रोजगारी दिएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका दशरथवस्तीका भरतलाल विश्वकर्माले कैलालीको टीकापुर नगरपालिका ७ सत्तीमा तिलगंगा बेतबाँस फर्निचर उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गरेका हुन्।

चार वर्षअघि सञ्चालन गरेको उद्योगमा स्थानीय ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनीहरूले प्रतिव्यक्ति मासिक १५ देखि २० हजार रूपैयाँसम्म कमाउने गरेका छन्। उनको पाँच जनाको परिवारसमेत उद्योगमै आश्रित छ। उनीहरू सबै उद्योगमा काम गर्छन्।

विश्वकर्मा रोजगारीका क्रममा नौ वर्ष मलेसिया र पाँच वर्ष भारतको कलकत्तामा बसे। त्यहाँ उनले बेतबाँस उद्योगमा काम गरे। जहाँ उनले बेतबाँसका सामग्री बनाउन सिके। पैसा र सिप दुवै सिकेर फर्किएका विश्वकर्माले बेतबाँस उद्योग सञ्चालन गर्ने सोच बनाए।

उनी बेतबाँस पाइने ठाउँको खोजी गर्दै कैलालीको टीकापुर पुगे। जहाँ बेतबाँस उत्पादन हुन्छ। यहाँको सत्ती कर्णाली सामुदायिक वनमा प्रशस्त मात्रामा बेतबाँस उत्पादन हुन्छ।  

उनले १० लाख रूपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरे। अहिले उनी वार्षिक ३० लाख रूपैयाँसम्मको बेतबाँसका सामग्री बिक्री गर्छन्। उनले सोफा, कुर्सी, टेवल, ह्यांगर, मुडा, फूलदानी, चुरा स्टेन्ड, फोटो फ्रेम लगायतका सामग्री उत्पादन गर्छन्। उनलाई सुरुमा सामग्री बेच्न गाह्रो भए पनि अहिले कुनै समस्या छैन।

‘सुरुसुरुमा केही समस्या थियो तर अहिले त कुनै समस्या छैन’ उनले भने, ‘कहिलेकाहीं अर्डर अनुसार सामान दिन सकिँदैन।’

उनको सामान काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढीलगायतका ठाउँमा बढी बिक्री हुन्छन्। उनलाई त्यहाँका ब्यापारीहरूले फोनमार्फत अर्डर गर्छन्। उनी ब्यापारीले अर्डर गरे अनुसारको सामान तयार पारेर पठाउँछन्।

उनले आफ्नो उत्पादन फुटकर पनि बिक्री गर्छन्। आफैं बिक्री गर्न भने जाँदैनन्। उनको उद्योगमै पुग्यो भने फुटकर किन्न पाइन्छ। ‘हामी बेच्न कतै जाँदैनौं । कोही उद्योगमै आयो भने बेच्छौं’ उनले भने, ‘कसैले मन परायो भने बेच्दैन भन्न पनि मिलेन।’

पछिल्लो समय बेतबाँसका सामग्री प्रयोगमा धेरैको रुचि बढेको पाइन्छ। धेरैजसोले घरमा बेतबाँसका सामग्री प्रयोग गर्दा स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हुने बताउने गरेका छन्।

स्वास्थ्यका दृष्टिकोणले मात्रै नभई बेतबाँसका सामान घरमा राख्दा शुभ मानिने स्थानीय लोकेश साउद बताउँछन्। ‘बेतबाँसलाई शुभ मानिने भएकाले यसको सामान राख्ने चलन बढेको छ’, उनले भने।

विश्वकर्माका अनुसार अहिलेको उत्पादनले बजारको मागलाई धान्न कठिनाइ भैरहेको छ। उनी उद्योग विस्तार गर्ने सोचमा छन्। त्यसका लागि कच्चा पदार्थको अभाव हुन्छ कि भन्ने चिन्ता पनि छ। सामुदायिक वनले हरेक वर्ष ६ सयदेखि एक हजार क्विन्टलसम्म बेतबाँस उत्पादन गर्छ। जसमध्ये तीन सय क्विन्टल मात्रै विश्वकर्माको उद्योगको भागमा पर्छ।

सामुदायिक वनले टेन्डर मार्फत बेतबाँस बिक्री गर्छ । टेन्डर गर्दा बाहिरका व्यापारीले किन्ने गरेका छन्। खासगरी भारतीय व्यापारीले अप्रत्यक्ष लगानी गरेर बेतबाँस खरिद गरेर लैजाने गरेका छन्।

‘हामीसँग सबै बेत किनेर राख्ने क्षमता छैन’ उनले भने, ‘बाहिरका व्यापारीले किनेर लगेपछि हामीलाई अभाव हुन्छ।’

उनले स्थानीयलाई समेत बेतबाँस उपलब्ध गराउनुपर्ने माग राखेर आन्दोलन गर्नुपर्ने स्थिति आउने गरेको दुःखेसो पोखे। उनले अघिल्ला दुई वर्ष कोरोनाका कारण बेतबाँस बाहिर निर्यात नभएपछि आफूले प्रशस्त सामान उत्पादन गरेको बताए।

उनको उद्योगमा महिला र पुरुष दुवैले रोजगारी पाएका छन्। खासगरी महिलाहरूले साँझबिहान घरको काम गरेर दिउँसोको समयमा उद्योगमा काम गर्छन्। घरआँगनमा खुलेको उद्योगले रोजगारी दिएकोमा स्थानीय निकै खुशी छन्। उनीहरू आर्थिक आम्दानीका साथै सिप सिक्न पाएकोमा समेत दंग छन्।

प्रकाशित: २९ पुस २०८० ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App