२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिबिफिनको अध्यक्षमा उपेन्द्र पौडेल

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

एनएमबी बैंकको आसन्न साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन लागेको पूर्व जानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसात गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा २०७६ सालमा सिबिफिनको स्थापना भएको हो। गोल्यान संस्थापक अध्यक्ष हुन्। गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

अध्यक्ष चयन भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरेका थिए। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात् उनले नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन्।

प्रकाशित: २७ पुस २०८० ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App