घरआँगन नै ढाकिने गरी सुन्तलाका बोट। खोल्सा, भिरालो जमिन र बारीका डिलमा लटरम्म फलेका सुन्तला। म्याग्दीको बेनी नगरपालिका-३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घर आँगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला।
कुनै समय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला रोपेकी कर्णकुमारीको बगैँचा अहिले सुनजस्तै पहेँलपुर छ। परम्परागत खेतीबाली लगाउन छाडेर करिब १८ वर्षअगाडि दुई सय बोटबिरुवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर १६ सय कमाइन्।
दोस्रो वर्ष ३५ सयको सुन्तला बेचेर थप बिरुवा खरिद गरेकी कर्णकुमारीले आठ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ। कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीले यस वर्ष ११ लाखको सुन्तला फलाइन्।
गत वर्ष नौ लाख ७२ हजार रुपैयाँको सुन्तला बिक्री गरेकी एकल महिला कर्णकुमारीको बगैंचाको बोटमै ब्यापारीले खरिद गर्छन्। बेनी नगरपालिका ३ भकिम्लीमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानमा पर्ने कर्णकुमारीले सुन्तला बेचेर घरखर्च, छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेकी छन्।
२०६७ साल चैतमा आंतकारी आक्रमणबाट अफगानिस्तानमा रहेका पतिलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले घर खर्च चलाउन सहज भएको बताइन्। ‘सन्तानलाई जस्तै माया गरी हुर्काएका बोटको अम्दानीबाट सन्तुष्ट छु’, सुन्तलाको रेखदेखका गर्दागर्दै धेरै रात बगैंचामै बिताएकी छु’, कर्णकुमारीले भनिन्।
उनले घर आँगन र पाखामा लटरम्म सुन्तला फल्न थालेपछि घर खर्च चलाउन कुनै समस्या नभएको बताइन्। पतिको रोजगारीको सिलसिलामा निधन भएपछि घरखर्चका लागि सुन्तलाको कमाइले सहज भएको कर्णकुमारीको भनाइ छ।
‘मेरो बाँच्ने आधार नै सुुन्तलाको कमाइ हो। दुई छोरीलाई पनि यसैबाट सहयोग गर्छु, सुन्तला खेतीलाई पेन्सनका रूपमा लिएकी छु’, कर्णकुमारीले भनिन्। ‘सुन्तला खेती बुढेसकालको सहारा बनेको छ’, उनले भनिन्, ‘एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन’, कर्णकुमारीले भनिन्।
उनले बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य सुन्तलाको कमाइले गरिदिएको बताइन्। उनले महिलाले घर खर्च चलाउन पति र छोराछोरीमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारी खेती गरे पुग्ने बताइन्।
मरेकका अगुवा किसान पदमबहादुर खत्रीले कर्णकुमारीले पुरुषले भन्दा धेरै सुन्तलाबाट कमाउने गरेको बताइन्। ‘एक महिलाले गरेको मेहनत उनको बगैँचामा गएर हेरे पुग्छ, घरमै बसीबसी लाखौं कमाउने हुन्छन्’, खत्रीले भने।
बाहिरी जिल्लाबाट आएका व्यापारीले स्थानीय किसानका बगैंचामा पुगेर टिप्न, बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर बजारमा लैजाँदा पहिलो रोजाइमा कर्णकुमारीको बगैंचा पर्छ। मरेक र बालम गाउँबाट यस वर्ष करिब ७० लाख रुपैयाँबराबरको सुन्तला फलेको अनुमान गरिएकोमा कर्णकुमारीसँगै अर्की एकल महिला जमुना थापा क्षेत्रीले समेत नौ लाखको सुन्तला फलाएकी छन्।
सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारी टाढाटाढाबाट आउन थालेको वडाध्यक्ष पदमबहादुर पुनले बताए। ‘महिलाको आम्दानी पुरुषभन्दा धेरै छ, सुन्तलाले आर्थिक रुपमा महिला शक्तिशाली भएका छन्’, वडाध्यक्ष पुनले भने।
भकिम्लीबाट साढे दुई करोडको सुन्तला बिक्री हुनेमा करिब आधाभन्दा धेरै महिलाकै सक्रियतामा व्यवस्थापन भएका बगैंचा रहेको वडाध्यक्ष पुनको भनाइ छ। उनले भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ। म्याग्दी जिल्लाको समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रले जनााएको छ।
प्रकाशित: २६ पुस २०८० ०३:१६ बिहीबार